काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज दशौँ चरणको तीन खेल हुँदैछ । जसअन्तर्गत शीर्ष स्थानमा रहेको मछिन्द्र एफसीले रेलिगेसन जोनमा रहेको च्यासल युथ क्लबसँग दशरथ रंगशालमा खेल्नेछ । उक्त खेल दिउँसो १ बजे सुरु हुनेछ ।
त्यसैगरी आजै विभागीय टोली नेपाल पुलिस क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लबबीच सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो १ बजे नै खेल हुनेछ । यस सिजन एन्फा कम्प्लेक्समा खेल हुने लागेको यो पहिलो पटक हो र लिगको खेल आयोजना हुने यो तेस्रो मैदान बन्नेछ ।
दशरथ रंगशाला बाहेक अखिल नेपाल फुटबल संघले यस पटक मनाङ मर्स्याङ्दीको तीन खेल पोखरा मैदानमा समेत खेलाएको थियो ।
त्यस्तै आजै दशरथ रंगशालामा दोस्रो खेल पनि हुनेछ । दशरथ रंगशालमा ४ः४५ बजे दोस्रो स्थानको मनाङ मर्स्याङ्दी र थ्रीस्टारबीचको खेल हुने भएको हो । मनाङ ९ खेलबाट १९ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानको त्रिभुवन आर्मी शुक्रबार जावालखेलसँग बराबरीमा रोकिएपछि उपाधि होडमा मछिन्द्रलाई टक्कर दिने क्लबमा मनाङ नै छ ।
थ्रीस्टार ९ खेलबाट १६ अंक जोडेर चौथो स्थानमा छ । मनाङलाई थ्रीस्टारले पराजित गरेमा मनाङसँग नै अंक बराबरीसमेत गर्नेछ ।
कीर्तिमानी आठ पटक लिग जितेको मनाङलाई यसपटक उपाधि होडमा रहन यो खेल निकै महत्वपूर्ण छ ।
Leave a Reply