काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले जनसंगठन समन्वयसम्बन्धी निर्देशिका–२०७८ जारी गरेको छ । जारी निर्देशिका अनुसार पार्टीका सदस्यले मासिक १५ रुपैयाँ पार्टीमा बुझाउनुपर्ने दायित्व तोकिएको छ । यसअघि वार्षिक रूपमा सदस्यले ३ सय ७५ रुपैयाँ पार्टीमा बुझाउँदै आएका थिए ।
यसैगरी, संशोधित नियमावलीअनुसार सबै तहका पार्टी कमिटीका पदाधिकारी तथा सदस्यले आफ्नो कार्यक्षेत्रबाट बाहिर जानुपरेमा सोको जानकारी अध्यक्षलाई गराउनुपर्ने व्यवस्था गरिएको छ ।
एमालेले अन्य वैकल्पिक स्रोत नभएका र पूर्णकालीन पार्टीको राजनीतिक तथा प्रशासनिक कार्यमा संलग्न पदाधिकारी, सदस्य, कार्यालय सचिव र कर्मचारीलाई सम्बन्धित कमिटीले निर्धारण गरे बमोजिमको पारिश्रमिक र सुविधा दिने व्यवस्था गरेको छ ।
पार्टीले तोकेको काममा जाने कुनै पनि नेता कार्यकर्ताको खर्च सम्बन्धित कमिटीले नै बेहोर्ने व्यवस्था समेत सो नियमावलीमा गरिएको छ । एमालेको विधानको धारा ८७ मा पारिश्रमिक र खर्च उल्लेख छ ।
यसैगरी, एमालेले पार्टीको औपचारिक कार्यक्रममा पार्टी र राष्ट्रिय झन्डा अनिवार्य राख्ने व्यवस्था गर्नुका साथै राष्ट्रिय गान र शहीदप्रति श्रद्धाञ्जली अनिवार्य गरेको छ । यो व्यवस्था यसअघि समेत रहेको थियो । राजधानी दैनिकमा समाचार छ ।
Leave a Reply