काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम आजदेखि स्थगित गरेको छ । सोमबार बसेको आयोगको बैठकले आजदेखि मतदाता नामावली संकलनको काम स्थगित गर्ने निर्णय गरेको हो ।
निर्वाचन आचारसंहिताअनुसार देशभर मतदाता नामावली संकलन हुने कार्यालयलाई आजदेखि मतदाता नामावली संकलन कार्य रोक्न र हालसम्मको विवरण पठाउन निर्देशन दिइएको आयोगका प्रवक्ता शालिकराम शर्माले जानकारी दिए । आयोगले मतदाता नामावली प्रकाशनको तयारी गरेको छ ।
कानुनी व्यवस्थाअनुसार निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन गर्न पाइँदैन। सोहीअनुसार आयोगले उक्त कार्य रोकेको हो । यस्तै आयोगले आसन्न स्थानीय तहको निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रक्रिया अघि बढाएको छ ।
भवन, परिवहनका साधन, फर्निचर वा अन्य भौतिक साधनलगायत व्यवस्थापन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पत्राचार गरी स्थानीय तहसँग विवरण मागेको जनाइएको छ ।
आयोगले सोमबार विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा २४७ मा यस संविधानबमोजिम निर्वाचन आयोगलाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग माग गरेको छ।
Leave a Reply