दाङ । प्यूठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको जीप दुर्घटना हुँदा ८ जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउने आठै जनाको सनाखत भइसकेको छ ।
दुर्घटनामा परि एकै परिवारका श्रीमान, श्रीमती र छोरीसहित ८ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा जिल्लाको गौमुखी गाउँपालिका–६ जिनाबाङका ३९ वर्षीय वसन्त खड्का, उनकी ३९ वर्षीया श्रीमती वसन्ती खड्का र उनीहरूकी ११ वर्षीया छोरी एलिसा खड्का रहेका छन् ।
त्यस्तै जीप चालक ५० वर्षीय बलबहादुर बुढा मगर, २९ वर्षीया केशरी खड्का, ३२ वर्षीय खिम खत्री, ५० वर्षीया नन्दी खड्का र नौबहिनी ६ लुङकी १८ वर्षीया विपना जिसीको पनि मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार दुर्घटनामा परि बेहुला २५ वर्षीय दानबहादुर खड्का, बेहुली १९ वर्षीया रीमा जिसी, २१ वर्षीय हरि बुढा मगर, १७ वर्षीय नरेश खड्का र २५ वर्षीया साबित्रा जिसी गम्भिर घाइते भएका छन्।
गम्भिर घाइते बेहुलीको एउटा हात नै चुँडिएको छ। गम्भीर घाइते बेहुलीसहित तीन जनालाई बुटवल रेफर गरिएको छ। बेहुला दानबहादुर खड्का र साबित्रा जिसीको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो।
एकातिर घटनास्थल विकट हुन र अर्कोतिर रातीको समयमा दुर्घटना भएकाले उद्धारमा ढिलाई हुँदा ठूला हताहती भएको गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु गिरी र प्यूठानका प्रहरी प्रमुख सत्यनारायण थापाले जनाएका छन् ।
प्रहरीका अनुसार ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका लागि अस्पताल पुर्याएलगत्तै मृत्यु भएको हो । जिप सडकदेखि १५० मिटर तल खोल्सामा खसेको छ । रातभर पानी परेको र बाटो चिफ्लो भएका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
Leave a Reply