Online Nepal
  • शनिबार, २४ कार्तिक २०८१
  • सुदूर पहाडमा हिमपात : तीन वटा राजमार्ग अवरुद्ध, जनजीवन प्रभावित

    सुदूर पहाडमा हिमपात : तीन वटा राजमार्ग अवरुद्ध, जनजीवन प्रभावित

    अनलाइन नेपाल
  • बिहिबार, २० माघ २०७८
  • 1.1K
    SHARES

    बैतडी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा अपराह्नदेखि हिमपात सुरु भएको छ । यहाँ तेस्रोपटक हिमपात भएको हो । यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो ।

    बैतडीको अनारखोली, खोडपे, ढोल्यामोड, सतबाँझ, देहिमाडौँ सिगास, मेलौलीलगायका क्षेत्रमा हिमपात भएको छ । यसका साथै डोटीको गैरा, डडेल्धुराको भीमदत्त राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ । बिहानैदेखि वर्षा भएको र अपराह्नपछि हिउँ पर्न सुरु भएको हो ।



    हिमपातका कारण यहाँका तीन राजमार्ग बन्द भएका छन् । बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । उनले भने्, “राजमार्गको ढोल्यामोड क्षेत्रमा भारी हिमपात भएकाले राजमार्ग ठप्प भएको छ ।”



    सतबाँझ क्षेत्रको हिमपातले महाकाली राजमार्ग र अनारखोली, खोडपे क्षेत्रको हिमपातले दशरथचन्द राजमार्ग अवरुद्ध रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

    उनले भने, “राजमार्ग क्षेत्रमा भारी हिमपात भएको छ, सवारी आवागमन रोकिएको छ । हिउँ पर्ने क्रम जारी छ । बाटो खोल्ने प्रयास गरिरहेका छौँ ।” यसैबीच हिमपातका कारण यहाँको जनजीवन पनि प्रभावित भएको छ ।

    हिमपातले चिसो बढेकाले जनजीवन कष्टकर बनेको दशरथचन्द नगरपालिका–१ मुस्याचौरका महेश भट्टले जानकारी दिए । उनले भने, “वर्षासँगै हिउँ परिरहेको छ, अत्यधिक चिसो छ । बाहिर निस्कनै मुस्किल भएको छ ।”

    वर्षा र हिमपातले चिसो बढेकाले स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन् । चिसोले बालबालिका तथा वृद्धवृद्धालाई बढी असर गर्ने भएकाले उनीहरुको ख्याल गर्न आग्रह गरिएको छ । वर्षासँगै हिमपात भएपछि किसान भने खुसी भएका छन् । हिमपात र वर्षाले गहुँलगायत हिउँदेबाली सप्रिने भन्दै किसान खुसी भएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार