एजेन्सी । संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्को बैठकमा अमेरिका र रुसका राजदूतबीच चर्काचर्की भएको छ ।
रुसले युक्रेनमा आक्रमणको लागि सीमा क्षेत्रमा एक लाखभन्दा धेरै सैनिक परिचालन गरेको भन्दै अमेरिकाको आग्रहमा बसेको सुरक्षा परिषद्को बैठकमा संयुक्त राष्ट्र सङ्घका लागि रुसी र अमेरिकी राजदूतबीच आक्रोसपूर्ण भनाभन भएको हो ।
बैठकमा अमेरिकी राजदूत लिन्डा थोमस ग्रिनफिल्डले रुसले पछिल्लो दशककै सबैभन्दा धेरै सैनिक परिचालन गरेर स्वतन्त्र देश युक्रेनको अस्तित्वमाथि धावा बोलिरहेको आरोप लगाइन् ।
उनले अमेरिकाले समस्याको कुटनीतिक समाधान चाहेको र रुसले युक्रेनमा आक्रमण गरेमा त्यसको निर्णयक जवाफ दिने चेतावनी दिइन् ।
तर रुसी राजदूत भास्ली नेबेन्ज्याले अमेरिकाले शक्तिको उन्माद देखाउँदै युक्रेन मामिलामा नचाहिँदो हल्ला फैलाएर विश्वलाई आतङ्कित बनाइरहको आरोप लगाए ।
उनले अमेरिकी कदम रुसका लागि अस्वीकार्य रहेको पनि बताएका छन् । रुसले युक्रेनविरुद्ध आक्रमणको तयारी गरेको कुनै प्रमाण देखाउन चेतावनी दिँदै रुसले तालिमको लागि आफ्नो क्षेत्रमा सेना परिचालन गर्दा अमेरिका र युरोपले आपत्ति जनाउनुपर्ने कुनै कारण नरहेको पनि उनको भनाई छ ।
बैठकमै अमेरिकी र बेलायतका प्रतिनिधिले रुसले युक्रेनमाथिको दमन अन्त्य नगरे आर्थिकसहितका थप प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।
Leave a Reply