काठमाडौं । कालोबजारी गर्दागर्दै पक्राउ परि जिल्ला अदालत काठमाडौंमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका व्यवसायी सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले पनि छाडेको छ। अचम्मको कुरा त के छ भने प्रहरीले थप कारवाहीका लागि पठाएका अग्रवाललाई विभागले रहस्यमय तरिकाले चार घण्टामै छाडेको छ।
अदालतबाट रिहा हुनेबित्तिकै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरी विभाग पठाएको थियो।
उनीसँग कार्यालय समयपछि पनि बयान लिएर राति साढे ८ बजे छोडिएको छ । सरकारी वकिलकोमा मेडिकल चेक गराएर लानुपर्नेमा उनलाई विभागमै कागजी रुपमा प्रक्रिया पूरा गरी छाडिएको छ ।
स्रोतका अनुसार विभागका महानिर्देशक रुपनारायण भट्टराई हस्याङफस्याङ गरी कार्यालयमा पुगी मुख्यसचिव लोकदर्शन रेग्मीले आजै छाड्न दबाब दिएको भन्दै अग्रवाललाई छाडिएको छ ।
सुलभ अग्रवालका भाइ साहिल अग्रवालले बुधबार नै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका उपसचिव विनोद लामिछानेसँग सेटिङ मिलाइसकेकाले कार्यालय समयपछि पनि बयान लिएर राति छाडिएको स्रोतको दाबी छ ।
कोरोना भाइरसका कारण देश लकडाउनमा भएका बेला चीनबाट ल्याइएको थर्मोगनलाई बढी मूल्यमा बेचेपछि उनलाई प्रहरीले नक्सालबाट चैत २५ गते पक्राउ गरेको थियो । ३ हजार पर्ने थर्मोगनलाई १५ हजारमा बेच्दा बेच्दै प्रहरी नै ग्राहक बनेर फन्दामा परेका थिए।
Leave a Reply