रामनारायण यादव / जनकपुरधाम । धनुषामा हिजो आँपको बगैंचामा टाउको फोडेर बीभत्स हत्या भएको युवतीको पहिचान खुलेको छ ।
प्रहरीका अुनसार मृतक धनुषाको मिथिला नगरपालिका वडा नम्वर १ लक्ष्मीनिबास कामेश्वर महतोको २६ वर्षीया छोरी इन्द्रकला कुमारी महतो रहेकी छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार इन्द्रकलाको शव धनुषाधाम नगरपालिका वडा नम्वर ६ मालटोल स्थित पूर्व–पश्चिम लोकमार्ग देखि २ किलोमिटर दक्षिणतर्फ रहेको आँपको बगैचामा बुधबार साँझ फेला परेको थियो ।
बलात्कार गरेर हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । स्थानीयका अनुसार इन्द्रकलाको ससुरा घर गौशाला नगरपालिकामा रहेको छ । उनी सोमबार नै बस चढेर माइत आउन लगेकी थिइन् ।
ढल्केवरमै बसबाट ओर्लिएर माइत पुग्नु पर्नेमा त्यहाँबाट कसरी ७ किलोमिटर पूर्वमा पुगिन् र कसरी बीभत्स हत्या भएको भन्ने खुलेको छैन । घटनाको विषयमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको प्रहरीले जनाएको छ ।
Leave a Reply