Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • आइजीपी ज्ञवालीको निर्देशन : लकडाउन कार्यान्वयनमा थप सक्रियता बढाउ

    आइजीपी ज्ञवालीको निर्देशन : लकडाउन कार्यान्वयनमा थप सक्रियता बढाउ

    अनलाइन नेपाल
  • बुधबार, १७ बैशाख २०७७
  • 1.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्न नेपाल प्रहरीले मुलुकभर थप सक्रियता बढाएको छ । सरकारले जारी गरेको लकडाउनलाई पूर्ण कार्यान्वयनका लागि प्रहरीले गाउँगाउँसम्म सक्रियता बढाएको हो । गृहको निर्देशनअनुसार पछिल्लो समयमा प्रहरीले लकडाउनलाई थप कडाइसमेत गरेको छ ।

    प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले लकडाउनका बेला व्यक्तिलाई घरबाट बाहिर निस्कन नदिन र पासबिनाका सवारी आवागमनमा रोक लगाउन मातहतका प्रहरीलाई आवश्यक निर्देशन दिएको बताएका छन् ।



    कालोबजारी नियन्त्रण गर्ने, लकडाउन पालना गराउने तथा अनुगमन गर्ने एवं उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिने काममा समेत प्रहरी सक्रिय रहेको प्रहरी महानिरीक्षक ज्ञवालीको भनाइ छ ।



    प्रहरीले करिब ३५ हजारपटक माइकिङ गरेर सचेतनामूलक कार्यक्रम गरेको जानकारी दिँदै उहाँले अपराध अनुसन्धान, अपराध नियन्त्रण तथा शान्ति सुरक्षाका साथै विपद् र विषम परिस्थितिबाट सिर्जित घटना रोक्न योजनाबद्धरूपले काम अघि बढाइएको बताए ।

    लकडाउनको कार्यान्वयन अनुगमनका लागि आधुनिक प्रविधि (ड्रोन) को समेत प्रयोग गरी प्रहरीले गतिविधिको निगरानी गरिरहेको छ ।

    पहिलोपटक घरबाट बाहिर निस्केका व्यक्तिलाई लकडाउनको जानकारी गराएर जहाँबाट आएको हो त्यहीँ फिर्ता पठाउने र पुनः दोहोर्‍याएर आएमा आवश्यक कारवाही गर्ने गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    प्रहरी महानिरीक्षक ज्ञवालीले भने, ‘लकडाउन आदेशलाई अन्य निकायसँग समन्वय गरी नेपाल प्रहरीले पूर्णरूपमा समन्वयात्मक भूमिका र कार्यान्वयन गरिरहेको छ ।’ कोरोनाको सङ्क्रमणलाई रोक्न सामाजिक दूरी कायम गर्नु महत्वपूर्ण हुन्छ । लकडाउन कार्यान्वयनमा खटिने प्रहरीसमेत उच्च जोखिममा छन् । यस अवस्थामा सुरक्षित हुनका लागि मास्क, स्यानिटाइजरको प्रयोग गर्न सकिन्छ । आवश्यक औषधि उपचारका लागि नेपाल प्रहरी अस्पतालले विशेष व्यवस्था गरेको समेत प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    अस्पतालकी मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले प्रहरीका लागि नेपाल प्रहरी अस्पतालमा आइसोलेसन वार्डको व्यवस्था गरेका बताइन् ।

    लकडाउनको अवस्थामा अधिकतम जनशक्ति खटाउने उद्देश्यअनुरुप विभिन्न प्रशिक्षणमा रहेका प्रहरी जनशक्तिलाई जुनसुकै अवस्थामा पनि आवश्यक स्थानमा खटाउन सकिने गरी तयारी अवस्थामा राखिएको छ ।

    राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक तारिणीप्रसाद लम्सालले हाल तालिम स्थगन गरी प्रहरी कर्मचारीलाई लकडाउनको कार्यान्वयनका लागि खटाइएको जानकारी दिए ।

    सम्भावित अवाञ्छित गतिविधिबारे चनाखो हुँदै स्वास्थ्यकर्मी, अस्पताल, भीडभाड व्यवस्थापनमा प्रहरीले सक्रियता बढाएको जनाइएको छ । रासस

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार