अमेरिका । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण दरमा अघिल्ला दिनहरुको तुलनामा केही कमी आएको छ । तापनि त्यहाँ कुल संक्रमित संख्या १० लाख नाघेको छ ।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या १० लाख १० हजार १२३ पुगेको छ । सोमबार मात्र त्यहाँ २२ हजार ९६३ नयाँ संक्रमित फेला परेका छन् । यो अघिल्ला दिनहरुको तुलनामा कम नै हो ।
यसैगरी अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण अहिलेसम्म ५६ हजार ७९६ को ज्यान गइसकेको छ । त्यहाँ सोमबार मात्र त्यहाँ कोरोना संक्रमणका कारण १ हजार ३८३ को ज्यान गएको छ । यो अघिल्लो एक दिनको तुलनामा भने केही बढी हो । आइतबार त्यहाँ एक दिनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार १५७ रहेको थियो । तर शनिबार भने एकै दिन मात्र २ हजार ६५ को मृत्यु भएको थियो ।
कोरोना संक्रमणका नयाँ केसहरुमा पनि शनिबारको तुलनामा आइतबार कमी आएको थियो । त्यहाँ शनिबार एकै दिन मात्र ३५ हजार ४१९ नयाँ संक्रमित फेला परेकोमा आइतबार भने यो संख्या घटेर २६ हजार ५०९ मा झरेको थियो । सोमबार यो संख्या अझै घटेर २२ हजारमा झरेको छ । शुक्रबार भने हालसम्मकै सर्वाधिक ३८ हजार ९५८ नयाँ संक्रमित फेला परेका थिए ।
यसैगरी अमेरिकामा १ लाख ३८ हजार ९८९ जना भने पूर्ण रुपमा निको समेत भइसकेका छन् । ८ लाख १४ हजारभन्दा बढी संक्रमित उपचाररत रहेको जनाइएको छ ।
सबैभन्दा बढी प्रभावित अमेरिकी राज्य न्यूयोर्कमा मात्रै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २२ हजार ६२३ पुगेको छ । सोमबार मात्र त्यहाँ ३४८ को मृत्यु भएको छ, यो अघिल्ला दिनहरूको तुलनामा सबैभन्दा कम हो । आइतबार त्यहाँ ३६७ को मृत्यु भएको थियो भने शनिबार ६१७ को मृत्यु भयो ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन्
यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।
विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।
Leave a Reply