काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार आठौं चरणका तीन खेल हुँदै छन्। शनिबार दिउँसो १ बजे दशरथ रंगशालामा मछिन्द्र र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ।
लिगको शीर्षस्थानमा रहेको मछिन्द्रले यसअघिको ७ खेलमध्ये ५ खेलमा जित र २ खेलमा बराबरीको नतिजा निकाल्दै १७ अंक हात पारेको छ भने लिगको पुछारमा रहेको फ्रेन्ड्स क्लबले केवल ३ खेलमा बराबरीसहित ३ अंक हात पारेको छ।
दिउँसो २ बजे पोखरा रंगशालामा मनाङ मर्स्याङ्दी क्लब र च्यासल क्लबबीच खेल हुँदै छ।
लिगको दोस्रो स्थानमा रहेको मनाङले ७ मध्ये ५ खेलमा जित र १ खेलमा बराबरीसहित १६ अंक हात पारेको छ भने च्यासलले १ खेलमा जित र २ मा बराबरीसहित ५ अंक हात पारेको छ।
पौने पाँच बजे दशरथ रंगशालामा न्युरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ।
एनआरटीले ७ मध्ये २ खेलमा जित र ४ मा बराबरीसहित १० अंक हात पारेको छ। आर्मीले भने २ खेलमा जित र ५ बराबरीसहित ११ अंक जोडेको छ।
Leave a Reply