रामनारायण यादव / महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले शितलहर प्रभावितहरुलाई चिसो छल्नको लागि कम्बल वितरण गरेको छ ।
जिल्लाको जलेश्वर नगरपालिका वडा नम्वर ३ र वडा नम्वर ६ का पचास घरपरिवारलाई प्रति परिवार एक थानको दरले महोत्तरीका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल र एसपी दिनेश आचार्यले संयुक्त रुपमा वितरण गरेका हुन् ।
विहिवार गरिएको उक्त कम्बल वितरणमा मुसहर समुदायका अति विपन्न परिवारहरुलाई कम्बल वितरण गरिएको हो ।
यता विपद व्यवस्थापन समितिको तर्फबाट मंगलवार महोत्तरी गाउपालिका वडा नम्वर २ र ५ का ३० घर मुसहर परिवार र बुधवार जलेश्वर नगरपालिका १२ का ४८ घर अति विपन्न परिवारलाई कम्बल वितरण गरिएको थियो । महोत्तरीका विगत केहि दिन देखि चिसो अत्यधिक बढ्न थालेपछि कम्बल वितरणलाई निरन्तरता दिइएको छ ।
गत सातामात्र नेपाली सेनाले समेत कम्बल र खाद्यान्न वितरण गरेका थिए । त्यसैगरी मनरा सिस्वा नगरपालिकाले आफ्नो वडा नम्वर १,२,५,८ र ९ नम्वर वडाको चोक र गाउका वस्तीहरुमा भिडभाड हुने स्थानहरुमा घुर बाल्न दाउरा वितरण गरेको छ ।
सोनमा गाउपालिकाले वढ्दो चिसोलाई मध्यनजर गर्दै आफ्ना विद्यालयहरु गत मंगलवार देखि शुक्रवारसम्म चारदिन जाडो विदा घोषणा गरेको छ ।
शितलहरले तराई मधेशमा जनजिवन प्रभावित हुन थालेपछि जिल्ला स्थित विपद व्यवस्थापन समितिले पालिकाहरु तथा अन्य विभिन्न संघ संगठनहरुसंग समन्वय गरि लक्षित वर्गहरुलाई न्यानो वितरण तथा अन्य आवश्यक सामग्री दिने तथा उपायहरु गर्ने कार्यमा लागेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले वताए ।
उनले जिल्ला भरिको शितलहर प्रभावितहरुको अवस्था वारे निरन्तर जानकारी लिईरहेको र आवश्यक्ता अनुसार राहतको तयारीमा लागेको बताए ।
Leave a Reply