Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • काेराेनाकाे त्रास: माथिको आदेश भन्दै नागढु‌ंगामा फेरि रोकिए काठमाडौंबासी

    काेराेनाकाे त्रास: माथिको आदेश भन्दै नागढु‌ंगामा फेरि रोकिए काठमाडौंबासी

    अनलाइन नेपाल
  • सोमबार, १५ बैशाख २०७७
  • 3.1K
    SHARES

    काठमाडौँ । काेराेना भाइरसकाे त्रासका कारण काठमाडाैँ भित्रिने मुख्य नाकामा प्रहरी प्रशासनले कडाइ गरेकाे छ। साेही क्रममा विराटनगरमा अलपत्र परेका काठमाडौंका बासिन्दालाई लिएर आउँदै गरेका बसहरु नागढुंगा नाकामा रोकिएका छन् ।

    थानकोट प्रहरीले विराटनगर महानगरपालिकाले पठाएका केही यात्रुलाई व्‍यक्तिगत विवरण टिपेर छाडे पनि केहीलाई भने फेरि रोेकेको छ । विराटनगर महानगरपालिकाले गाडी रिजर्भ गरेर काठमाडौं पठाएका १६० यात्रुमध्ये ४२ जनालाई अहिले नागढुं‌गा चेकपोस्टमै रोकिएको छ ।



    नागढु‌ंगामा खटिएका प्रहरीले यात्रुको नाम, आएको र जाने ठाउँलगायतका विवरण टिपेर प्रहरीले यात्रुलाई छाडे पनि महानगरीय प्रहरी वृत थानकोटका डीएसपी घनश्‍याम श्रेष्‍ठ आएर फेरि रोकेका हुन्।



    उनले माथिको आदेश नआएसम्म काठमाडौं प्रवेश गर्न नदिने बताएका छन्। ‘अगाडि गएकालाई पनि हामीले थानकोटमा रोेकेर राखेका छाैं, माथिको आदेश नआएसम्म हामी कसैलाई पनि छाड्दैनौं,’ डीएसपी श्रेष्‍ठले भने। डीएसपी श्रेष्ठले थानकोटमा यात्रुलाई रोकेर राखेको बताए पनि धेरै यात्रु भने भित्री बाटो हुँदै गन्तव्‍यतर्फ गइसकेका छन्।

    महानगरपालिकाले ७ वटा बसमा १६० जनालाई काठमाडौं पठाएको थियो। उनीहरुलाई गाडीबाट झारेर चेकपोस्टमा प्रहरीले केहीबेर रोकेको थियो। हरेक बसमा १९ जना यात्रु पठाइएको थियो। उनीहरु सोमबार बिहान साढे ८ बजे चेकपोस्ट आइपुगेका थिए। प्रहरीले चेकपोस्टबाट अलि तल यात्रु झरेर बसहरु काठमाडौं प्रवेश गराए पनि यात्रुलाई भने रोकेर राखेको थियो।

    ८ बजे अगाडि विराटनगरलगायतका अन्य ठाउँबाट आएका याुत्रहरु काठमाडौं प्रवेश गरिसकेका थिए। तर त्यसपछि आएका यात्रुलाई भने माथिको आदेश चाहिने भन्दै प्रहरीले रोकेको थियो। अहिले नागढु‌ंगा चेकपोस्टमा विराटनगर र अन्‍य ठाउँबाट आएका यात्रुहरुको संख्‍या थपिने क्रम जारी छ।

    विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेलले भने समन्वय गरेरै विराटनगरमा अलपत्र परेका काठमाडौंका जनतालाई पठाएको बताउँछन् । उनले भने, ‘हामीले समन्वय गरेर नै पठाएका थियौं । तर गाडी नागढुंगामै रोकिएछ भन्ने जानकारी पाएका छौं । हामीले सबैलाई स्वास्थ्य जाँच गरेर पठाएका छौं ।’

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार