काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्लसहित ९ खेलाडी राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा फर्किएका छन् ।
स्रोतका अनुसार ज्ञानेन्द्र सहितको टोली सोमबार दिउँसो क्रिकेट टोली रहेको होटल रमादामा पुगेको हो । यद्यपि, तीव्र गतिका बलर सोमपाल कामी र करण केसी भने अझै होटल पुगेका छैन् । उनीहरु साँझसम्म फर्किने स्रोतको भनाइ छ।
नेपाल क्रिकेट संघ (क्यान) ले टी–२० विश्वकप ग्लोबल क्वालिफायरका लागि ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । उनीहरुलाई १७ पुससम्म रिपोर्टिङ गर्न भनिएको थियो ।
क्यानको कारबाहीमा परेका ज्ञानेन्द्रसहित, निवर्तमान उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल, कमलसिंह ऐरी, करण केसी, अभिनाश बोहरा, रोहितकुमार पौडेल, कुशल भुर्तेल र सन्दीप जोराले रिपोर्टिङ गरेका थिएनन् ।
यसअघि ज्ञानेन्द्र, सोमपाल, दीपेन्द्र र कमललाई क्यानले स्पष्टीकरण लिँदै मंसिर २९ मा ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रलाई उपकप्तानबाट हटाउँदै ४ क्रिकेटरलाई २०२२ को सुरुवाती ६ महिना ग्रेडमै नराख्ने निर्णय गरेको थियो।
तर, आइतबार क्यान र ज्ञानेन्द्रबीच प्रशिक्षणमा फर्किने सहमति भएको थियो। यससँगै नेपाली क्रिकेटको सम्भावित दुर्घटना टरेको छ ।
Leave a Reply