काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा गुटबन्दी अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाली कांग्रेस तनहुँको आज आयोजित पदस्थापन कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले कांग्रेसमा गुटबन्दी मौलाउँदै गएकाले यसको अन्त्य हुनुपर्ने बताए ।
देशैभर गुटले प्रश्रय पाएको बताउँदै वरिष्ठ नेता पौडेलले गुट अन्त्य गर्न सके मात्र पार्टी बलियो हुने धारणा राखेका थिए । ‘गुट बलियो बनाउने होइन, पार्टी बलियो बनाउनुपर्छ, त्यसतर्फ सबै लागौँ’, पौडेलले भने ।
१४औँ महाधिवेशनमा आफ्नो समूहबाट सर्वसम्मत नभएपछि आफू उम्मेदवार नबनेको बताउँदै पौडेलले तटस्थ भूमिकामा बसेको बताए ।
वरिष्ठ नेता पौडेलले बीपीको विचार र सिद्धान्तलाई अनुसरण गर्नुपर्नेमा जोड दिए । ‘बीपीको विचार र सिद्धान्त कांग्रेसले भुल्दै गएको छ, बीपीको विचारलाई अनुसरण गर्न सक्नुपर्छ’, पौडेलले भने ।
Leave a Reply