Online Nepal
  • शनिबार, २४ कार्तिक २०८१
  • इतिहासकै सबैभन्दा ठूलो ‘जेम्स वेब स्पेस टेलिस्कोप’ आफ्नो मिशनमा निस्कियो, यी हुन् विशेषता

    इतिहासकै सबैभन्दा ठूलो ‘जेम्स वेब स्पेस टेलिस्कोप’ आफ्नो मिशनमा निस्कियो, यी हुन् विशेषता

    अनलाइन नेपाल
  • आइतबार, ११ पुष २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । ब्रह्माण्डको सबैभन्दा पहिलो तारा खोज्ने उद्देश्यसहित दश अर्ब डलर खर्च गरेर बनाइएको जेम्स वेब टेलिस्कोप शनिवार अन्तरिक्ष यात्रामा निस्किएको छ। दक्षिण अमेरिकाकी फ्रेन्च गुयानाको एरियन रकेटबाट इतिहासकै सबैभन्दा ठूलो भनिएको जेम्स वेब स्पेस टेलिस्कोप प्रक्षेपण गरिएको हो।

    उक्त उडान पृथ्वीको कक्षमा ३० मिनेटभन्दा कम समय रहेको थियो र केन्याको मालिन्डीस्थित एन्टेनाले प्रक्षेपण सफल भएको सङ्केत प्राप्त भएको पुष्टि गरेको थियो । चन्द्रमामा एपोलो मिसनमार्फत अन्तरिक्षयान पुर्‍याउने प्रमुख भूमिका खेलेका वेबको नाम दिइएको यो नयाँ टेलिस्कोप हबल टेलिस्कोपको उत्तराधिकारी हो।



    अमेरिकी, युरोपेली र क्यानडाली अन्तरिक्ष एजेन्सीमा काम गर्ने इन्जिनियरहरूले यो नयाँ टेलिस्कोप हबलभन्दा १०० गुणासम्म शक्तिशाली हुने बताएका छन्। उक्त टेलिस्कोप बोकेको रकेटले पृथ्वी छाड्दा अमेरिकी अन्तरिक्ष निकाय नासाका एक जना टेलिभिजन प्रस्तोता रब नाभिसले जेम्स वेबले ब्रह्माण्डको जन्मतर्फको यात्रा पुन: सुरु गरेको बताए।



    उक्त टेलिस्कोपलाई पृथ्वीबाट पठाइएको हेर्न आतुर भएका मानिसहरू पनि उक्त क्षणलाई लिएर तनावमा थिए। विश्वभरका हजारौँ मानिसहरू उक्त परियोजनामा पछिल्लो ३० वर्षयता कार्यरत थिए।

    एरिअन एउटा विश्वसनीय वाहक भए पनि रकेटको सन्दर्भमा प्रक्षेपणहरू सफल नै हुन्छन् भन्ने निश्चित छैन। तर, शनिवारको प्रक्षेपण अबको छ महिनामा हुनुपर्ने जटिल शृङ्खलाबद्ध कामको सुरुवात मात्रै हो।

    उक्त टेलिस्कोप पृथ्वीभन्दा करिब १५ लाख किलोमिटर पर पुर्‍याइनेछ। त्यहाँसम्म पुग्ने क्रममा वेबले अहिलेको आफ्नो स्वरूप बदल्ने छ र त्यो ककुनबाट पुतली निस्किएको जस्तै हुने बताइन्छ।

    अमेरिकी अन्तरिक्ष एजेन्सी प्रशासक बिल नेल्सनले वेब एक असाधारण मिसन भएको बताए। ‘हामीले ठूलो सपना देख्दा कतिसम्म हासिल गर्न सक्छौँ भन्ने यो ज्वलन्त उदाहरण हो। यो परियोजना जोखिमपूर्ण छ तर ठूलो पुरस्कार पाउन जोखिम त मोल्नै पर्छ,’ प्रक्षेपणअघि उनले भने।

    यो सुपर टेलिस्कोप ब्रह्माण्डमा धेरै टाढासम्म हेर्न मिल्ने गरी निर्माण गरिएका कारण यसले १३.५ वर्षअघिको पहिलो ताराको प्रकाश पहिचान गर्न सक्ने अपेक्षा गरिएको छ।

    ‘हामी ब्रह्माण्डबारे सबैलाई चकित बनाउने रहस्यहरू पत्ता लगाउन सक्नेछौँ। यो टेलिस्कोपको सबैभन्दा उत्साहजनक सम्भावना मेरो लागि यही नै हो,’ परियोजनाका उपप्रमुख समेत रहेका वैज्ञानिक डा. एम्बर निकोल स्ट्रगनले भनिन्।

    यसमा ६.५ मिटर ब्यासको खगोलीय ऐना प्रयोग गरिएको छ जुन अहिलेसम्म पृथ्वीको कक्षमा पठाइएकामध्ये सबैभन्दा ठूलो हो। खुम्च्याएर पठाइएको यो ऐनालाई अन्तरिक्षमा फैलिन नै दुई हप्ताको समय लाग्नेछ।

    यो टेलिस्कोप पूर्ण सञ्चालनमा आएर तस्बिरहरू पठाउन छ महिना लाग्ने डा. स्ट्रगन बताउँछिन्। ‘यो फैलिएर आफ्नो आकार लिने आफ्नै प्रणाली छ। त्यसपछि यो चिसो हुन, ऐनाहरू मिलाउन र उपकरणहरू खुल्न एक-एक गर्दै धेरै महिना लाग्छ,’ उनले भनिन्।

    यसले सन् २०२२को गर्मीयामसम्म पहिलो तस्बिर पठाउने उनको अपेक्षा छ । बीबीसी नेपाली

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार