Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • काेराेनाले विपन्न वर्ग मर्कामा: मेयरले हप्काए, पीएले कुकुर हुत्याए

    काेराेनाले विपन्न वर्ग मर्कामा: मेयरले हप्काए, पीएले कुकुर हुत्याए

    अनलाइन नेपाल
  • आइतबार, १४ बैशाख २०७७
  • 2K
    SHARES

    जनकपुर। कोरोना संकटका कारण दैनिक ज्याला मजदुरी गरी बनिबुँतो गर्ने मानिसको दैनिक मुस्किल बनेको छ। कोरोना संक्रमण रोकथामका लागि गरिएको लकडाउनका कारण अधिकांश ज्यालादारीका गरिब विपन्न तथा मजदुर परिवार घरभित्रै थुनिएका छन्। लकडाउन लागू भएको एक महिना बितिसकेको छ।

    जनकपुरधाम उप-महानगरपालिकामा गरिब विपन्न परिवारलाई राहतका रूपमा चामल-दाल त छोडौं एउटा मास्कसमेत बाँडन नसकेको स्थानीय रामप्रित डोमले गुनासो गरे। डोमले भने, ‘हाम्रो टोलका मानिसहरूसँगै म पनि मेयर साहव लालकिशोर साहको घरमा राहत माग्न गएको थिए तर मेयर साहवले हप्काएर पठाउनुभो, हामी केही दिन्छ, कि भनेर ढोकामा उभियौं, पछि मेयर साहवको पीएले कुकुर हुत्याए, झण्डै हामीलाई कुकुरले टोकेन, भागेर ज्यान बचायौं।’



    जनकपुरधाम उप-महानगरपालिका २ का दिलीप सदायले ३० दिनदेखि कुनै काम पाएका छैनन्। घरमा अन्नपात सकिएको छ। उनले भने, ‘मसँग अब न काम छ, न पैसा नै। गाउँ जाउँ भने, गाडी चल्दैन, घरभाडा तिर्नुपर्‍यो, फेरि बालबच्चा पाल्नुपर्‍यो, सबै जोहो गर्न गाह्रो भयो। घरमा भएको दाल-चामल सकिँदैछ, अब के गर्ने ? ’ जनकपुरस्थित एक एक पुस्तक पसलमा काम गर्ने वीरगञ्जका सुधीर साहले आफू कहिल्यै अभावमा परेको मान्छे नभए पनि यतिखेरको जस्तो समस्या कहिल्यै सामना गर्नु नपरेको बताए।



    उनले भने, ‘घर जान सकिने अवस्था छैन, सरकारले राहत पनि दिएन। राहत बाँड्दैछ भन्ने त सुतियो तर अहिलेसम्म कसैले दिएका छैनन्।’ उनले राहत नभए पनि अहिले मारवाडी सेवा समितिले खाना दिन थालेपछि भने सजिलो भएको सुनाए। लकडाउनमा खान, बस्न नपाएकालाई सहयोग गर्ने जिम्मा संघीय तथा प्रदेश सरकारले स्थानीय सरकारलाई दिए पनि मेयर लालकिशोर साहले संघीय सरकारले सहयोग नगरेकोे गुनासो गरे।

    मेयर भन्छन, ‘माथिल्लो सरकारले हामीलाई सहयोग गरेन, झन यस्तो समयमा आसपासका मान्छे नै बढी सहयोगी हुन्छन्, तर, नगरपालिकाले पनि वडा कार्यालयमार्फत खाद्यान्न वितरण गर्ने योजना बनाएको छ, खाद्यान्न अभावले वितरण गर्न सकिएको छैन।’ यता वडाध्यक्ष जानकीराम साहले मेयरले कमिशनको चक्करमा हालसम्म रात वितरण गर्न नसकेको आरोप लगाए।

    उनले भने, ‘धनुषाका अधिकांश पालिकाहरूले पहिलो चरणको राहत बाँडिसके तर हाम्रो पालिकामा राहतको अत्तोपत्तो छैन, मेयर साहवले कमिशन खाएर विराटनगरबाट खाद्यान्न मगाएपछि राहत वितरणमा ढिलाइ भयो।’ यस्तै वडाध्यक्षले पनि मेयरको कमिशन स्वार्थका कारण विपन्नले राहत पाउन नसकेको आरोप लगाएका छन्। ‘मेयर साहवको स्वार्थी नियतले विपन्न परिवार भोकभोकै बस्नुपरेको छ,’ वडाअध्यक्ष दीपेन्द्र साहको आरोप छ।

    उनले थपे, ‘उहाँ कमिशनको खेलमा लाग्नु भएको छ, जनताको गुनासो हामीलाई सुन्नु परेको छ। हाम्रो कुरा सुन्दैनन्, भेट्न जान्छौं, समय दिनुहुन्न, हामी उहाँबाट हैरान भइसकेका छौं।’ कोरोनाभन्दा भोकले गरिब मर्न लागिसके पनि मेयरलाई तस्वीर खिचाउन र मिटिङमा बस्दै फुर्सद नभएको उनको भनाइ छ। अन्नपुर्ण पाेष्टबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार