काठमाडौं । हृदयेश त्रिपाठीले नयाँ दल गठन गरेका छन् । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले जनता प्रगतिशिल पार्टी गठन गरेको जानकारी गराएका हुन् ।
सम्मेलनमा नयाँ दल गठन गरेको जानकारी दिंदै त्रिपाठीले अन्य दलको आलोचना गरेर आफूलाई असल देखाउने प्रतिस्पर्धामा आफ्नो रुचि नरहने बताए ।
अहिले देशमा वैचारिक बहस शून्य रहेको र वर्तमान अवस्थामा राज्यका तीनवटै अंगहरु व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रभावहीन तथा गतिहीन भएकाले देशको राजनीतिलाई गतिशील बनाउन नयाँ पार्टी गठन गरेको उनले बताए ।
त्रिपाठीले भने–‘देशमा पार्टीको अभाव भएर यो नयाँ दलको गठन भएको होइन, अपितु वैचारिक बहस प्रायः शून्य भएको वर्तमान अवस्था तथा राज्यका तीनवटै अंगहरु व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रभावविहीन तथान गतिहीन रहेको अवस्थामा संविधानको कार्यान्वयनलाई बाधा उत्पन्न भइ देशको राजनीति नै लिकभन्दा बाहिर गइरहेको देखिन्छ । अन्य दलको आलोचना गरेर आफू असल दल साबित गर्ने अस्वस्थ प्रतिस्पर्धामा हाम्रो रुचि रहने छैन । वर्तमान परिदृश्यमा दलहरुबीच न्युनतम साझा विषयहरुमा राष्ट्रिय सहमतिको नितान्त आवश्यक्ता छ । यसले नै लिक बाहिर पुगेको राजनीतिलाई पुनः सही बाटोमा ल्याउनेछ र संविधानलाई चलायमान बनाउने छ ।’
त्रिपाठीको नयाँ पार्टी घोषणा कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वअर्थसचिव रामेश्वर खनाल, राजनीतिक विश्लेषक तुलनारायण साहलगायत उपस्थित थिए ।
Leave a Reply