काठमाडौं । गत मंसिर २० गतेपछि नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरू उपत्यका आउन थालिसकेका थिए । काठमाडौंको होटलहरू कांग्रेसमय भएको थियो ।
त्यही क्रममा प्रहरीले एक सूचना पायो–कांग्रेसका केही नेतासहितका व्यक्ति स्वयम्भुको एउटा घरमा तास खेलिरहेका छन् । नभन्दै प्रहरीको सूचना सही ठहरियो, ठूलो जुवाखाल चलिरहेको अवस्थामा प्रहरीले छापा हान्यो । जसमा १६ जना जुवाडे १६ लाख ९३ हजार पाँच सय रुपैयाँसहित पक्राउ परे । प्रहरीको पक्राउ सूचीको १५ नम्बरमा रमेश धमला थिए, जो धादिङ कांग्रेसका पूर्वसभापति र केन्द्रीय सदस्यका उम्मेदवार हुन् । उनलाई पनि प्रहरीले स्वयम्भु वृत्तमा लग्यो । तर, तत्कालै प्रहरीमाथि यति ठूलो दबाब आयो कि तत्कालै उनी छुटे ।
धमलाले आफू जुवा नखेलेको र त्यो घरमा मात्र गएको भन्ने आधारमा उनलाई छाडिएको थियो । तर, खासमा उनी जुवाखालमै पुगेको स्रोत बताउँछ । तर, धमला पौडेल–कोइराला पक्षको नेता भएको र नियोजित रुपमा उनलाई देउवा पक्षले सत्ताको दुरुपयोग गरी थुन्न लागेको भन्ने रिपोर्टिङ गरेर कांग्रेस नेताहरूले मध्यराती गृहमन्त्री बालकृष्ण खाणलाई धम्काएर छाड्न लगाएका थिए । छुटेलगत्तै उनले आफु पक्राउ नपरेको भन्दै प्रहरी वृत्तकै अगाडी लाइभ गर्न लगाएका थिए ।
स्रोतका अनुसार धमलासहित आशिष गिरी, मिसिङग मगर, नवीन भुजेल, धुन्चे लामा, किरण भुजेल, दावा लामा, शम्भु लामा, प्रेमध्वज खड्का, राज मोक्तान, अष्टमान स्याङतान, सुनिता राई, दिवश भुजेल, राजु नगरकोटी, सुवास बरुवाल र बागे लामा पक्राउ परेका थिए ।
यसअघि दोलखा कांग्रेसका सभापति बर्मा लामा तिहारमा पक्राउ परेका थिए । उनी भने केही दिन हिरासतमा बसेर प्रशासन कार्यालय खुलेको पहिलो दिन नै गृहमन्त्रालयको निर्देशनमा छुटेका थिए । कांग्रेसी राजमा ठूला जुवाडेहरू पक्राउ पर्दा यसरी कोही खालबाटै त कोही १÷२ दिनमै छाडिने गरिएको छ । दृष्टि साप्ताहिकबाट साभार
Leave a Reply