काठमाडौं । राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले पूर्व राजा र निर्मल निवासमाथि पार्टीले छानविन गर्नुपर्ने माग गरेका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई पत्र लेख्दै थापाले राजसंस्थाद्वारा पार्टीको महाधिवेशनमा हस्तक्षेप गरिएको आरोपसहित छानविन माग गरेका हुन् ।
थापाको तीन पृष्ठ लामो पत्रमा राजसंस्थाको हस्तक्षेपको भत्सर्ना गर्दै निष्पक्ष छानविन समिति बनाउन माग गरिएको छ ।
थापाले पत्रमा भनेका छन्–‘राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउने चाहने निर्मल निवासको योजनाका बारेमा पार्टीभित्र बहस सुरु गर्नुहोस ।’
यो विषयको निराकरण नभएसम्म पार्टीले कुनै गति लिन नसक्ने थापाको भनाइ छ । पार्टीको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्ने राजालाई बोकेर हिँड्ने नैतिक धरातल समाप्त भएको पनि थापाले बताएका छन् ।
‘पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासको पछिल्लो कारवाहीले मेरो मूल्य मान्यताको आधार र धरोहर एकैपटक तहसनहस भएको छ । राजा बोकेर हिँड्ने राप्रपाको नैतिक धरातल समाप्त भएको छ ।’ उनले भनेका छन् ।
‘राप्रपा महाधिवेशनबाट केन्द्रीय नेतृत्वको निर्वाचनको क्रममा पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवास सचिवालयले गरेको हस्तक्षेप (जसको हामीसँग यथेष्ट प्रमाण छ) अब जगजाहेर भइसकेको छ। स्वयं पूर्व राजाको प्रत्यक्ष निर्देशनमा उहांका सचिवहरू र नातेदारहरूले राजको चाहना भन्दै महाधिवेशन प्रतिनिधिहरुलाई दबाब दिने तथा प्रभाव र प्रलोभनमा पार्ने काम खुलारूपमा भयो । पार्टीको आन्तरिक मामिलामा पार्टीइतर शक्तिबाट भएको हस्तक्षेप अमर्यादित, अवाञ्छनिय र निन्दनीय छ ।’ पत्रमा भनिएको छ।
‘राप्रपाले परिकल्पना गरेको राजसंस्था पार्टीगत राजनीतिभन्दा माथि उठेको सबैको विश्वास र आस्था आर्जन गर्नसक्ने तथा अभिभावकीय हैसियतमा रहने एउटा आदर्श संस्था हो। नेपालको भूराजनीतिक अवस्था र धार्मिक, सामाजिक, सांस्कृतिक परिवेशमा राष्ट्रियता र एकताको प्रतिकको रूपमा राजसंस्था आवश्यक छ भन्ने राप्रपाको सुस्पष्ट र दृढ धारणा हो। यो मान्यताको उल्लंघन गर्दै निर्मल निवास स्वयंले राप्रपाको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप गरेको छ। यो घटनापछि राजसंस्थाको पक्षमा वकालत गर्ने राप्रपाको नैतिक धरातल समाप्त भएको छ,’ उनले भनेका छन्।
Leave a Reply