काठमाडौँ । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका राजनीतिक पार्टी भनेकै एमाले र काँग्रेसमात्र भएको दाबी गरेका छन् ।
शुक्रबार नेकपा एमाले वागमती प्रदेश कमिटीले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाई दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले र कांग्रेस बाहेक अरु सवै पार्टी पानीको फोकाजस्तो भएको टिप्पणी समेत गरे ।
‘वास्तवमा पार्टी भनेको नेकपा एमाले हो, त्यसपछि नेपाली काँग्रेस हो, अरु त बन्छन् बिलाउँछन् । फेरि बन्छन् फेरि बिलाउँछन्’, अध्यक्ष ओलीले भने।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले नेकपा एमाले नै देशको प्रमुख पार्टी भएको भन्दै यसको काँधमा प्रमुख अभिभारा रहेको दावी समेत गरे ।
उनले नेपाली काँग्रेसलाई समेत एमालेले सम्झाउनुपर्ने अवस्था आएको बताए । ‘नेपाली काँग्रेसलाई समेत सम्झाउनुछ, त्यस कामका लागि अहिले म जाँदैछु’, ओलीले भने।
अध्यक्ष ओली यस कार्यक्रमपछि कांग्रेसको १४ औं महाधिवेशनमा सहभागी जनाउन भृकुटीमण्डप जाने कार्यक्रम रहेको छ।
भृकुटीमण्डपमा कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्र चलिरहेको छ।
Leave a Reply