काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रियसभा चुनावसम्म मात्रै भएको बताएका छन् ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा कांग्रेस सभापति समेत रहेका देउवाले राष्ट्रियसभाको चुनावपछि भने गठबन्धन हुने नहुने भन्ने बिषयमा छलफल नभएको बताए ।
‘अहिलेको गठबन्धन राष्ट्रिय सभाको चुनावसम्म मात्रै हो,’उनले भने, ‘त्योभन्दा पछिसम्म लाने वा नलने भनेर छलफल भएको छैन।’
निर्वाचन आयोगले माघ १२ गते राष्ट्रियसभा चुनाव गर्ने भएको छ । राष्ट्रियसभामा २० सदस्यको पदावधि फागुन २० मा सकिँदैछ । २० सदस्यमध्ये १ जना राष्ट्रपतिबाट मनोनित हुन् भने १९ पदका लागि माघ १२ मा चुनाव हुनेछ ।
यस्तै, कुराकानीका क्रममा प्रधानमन्त्री देउवाले पार्टीको आसन्न १४ औं महाधिवेशन भव्य र शब्यरुपमा सम्पन्न गर्ने बताए। ‘कांग्रेस उदार र जिम्मेवार पार्टी हो, धेरै मान्छे उतारेर महाधिवेशन गर्दैमा शक्तिशाली भइदैन’, प्रधानमन्त्री देउवाले भने।
पछिल्लो समय पुन: कोरोना भाइरस संक्रमणको जोखिम रहेको र धेरै मान्छेको जमघटले कोरोना फैलिन सक्ने उनको भनाइ छ।
Leave a Reply