जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश २ मा मधेश प्रदेशमा समितिका पदाधिकारीको नाम घोषणा गरेको छ । पदाधिकारीमा सप्तरीबाट चार जना परेका छन् ।
उपाध्यक्ष, मुख्य सचिव, सचिवमा गरी सप्तरीबाट चार जनालाई जसपाको पदाधिकारीमा चयन गरिएको छ ।
पार्टीबाट महन्थ ठाकुरसहितका नेता अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेपछि पहिलाको राजपा नेतालाई समेत समायोजन गर्दै पार्टीको मधेश प्रदेश समितिका पदाधिकारीको नाम घोषणा गरिएको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जनकपुरधाममा बुधबार घोषणा भएको समिति अध्यक्षमा बाराका रामबाबु यादव चयन भएका छन् । यादव बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन ।
उपाध्यक्षमा सप्तरीका शम्भु झा परेका छन् । साथै रामपृत पासवान, शेषनारायण यादव, बृजमोहन तिवारी र रामसेवक यादवलाई पनि उपाध्यक्षमा राखिएको छ ।
समितिको मुख्य सचिवमा दिनेश कुमार यादव छन् । यादव सप्तरीकै हुन् । सचिवमा युसुफ अली छन् । उनी पनि सप्तरीकै हुन् । निरा साह र शैलेशकुमार साह पनि सचिवमा चयन भएका छन् । शैलेश कुमार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर हुन् । कोषाध्यक्षमा रेणु यादवलाई चयन गरिएको छ । उनी पनि सप्तरीकै हुन् ।
Leave a Reply