Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • नेपालको विश्वकप खेल्ने सपना अधुरै, युएईसँग ४८ रनले पराजित

    नेपालको विश्वकप खेल्ने सपना अधुरै, युएईसँग ४८ रनले पराजित

    अनलाइन नेपाल
  • आइतबार, १२ मंसिर २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाल युएईसँग ४८ रनले पराजित भएको छ । अन्तिम खेलमा पराजित हुँदा नेपालको ग्लोबल छनोटमा पुग्ने सपना अधुरो भएको छ ।

    संयुक्त अरब इमिरेट्सँग पराजित भएसँगै आगामी सन् २०२३ मा हुने टी–२० विश्वकप खेल्ने सम्भावना समाप्त भएको हो ।



    ६ टोली सम्मिलित प्रतियोगितामा सबै ५ खेल जित्दै घरेलु टोली युएई १० अंक जोडेर विजेता बन्दै ग्लोबल क्वालिफायरमा छनोट भएको छ ।



    ग्लोबल क्वालिफायरमा पुग्ने लक्ष्य राखेको नेपाल हङकङ र युएईसँग पराजित भएपछि लक्ष्य अधुरै रहेको हो । हङकङसँग भएको पहिलो खेल गुमाएको नेपालले भुटान, कुवेत र मलेसियालाई सहजै पराजित गरे पनि आइतबार निर्णायक खेलमा युएईसँग पराजित हुन पुग्यो । ग्लोबल क्वालिफायर पुग्न नेपालले युएईविरुद्धको आइतबारको खेलमा कम्तीमा १० बल अगावै युएईले दिएको १२८ रनको लक्ष्य पूरा गर्नुपर्ने थियो ।

    आइतबार हुने खेलमा हङकङले कुवेतलाई पराजित गरेमा नेपाल तेस्रो हुनेछ । यो नतिजा आएमा दोस्रो हुनेमध्ये उत्कृष्ट रहेर ग्लोबल क्वालिफायर पुग्ने नेपालको सम्भावना पनि समाप्त हुनेछ ।नेपालले अहिलेसम्म ग्लोबल क्वालिफायर पुगेको छैन ।

    दुबईस्थित आईसीसी एकेडेमी मैदानमा नेपालले टस जितेर ब्याटिङको निम्तो दिएपछि युएईले ५ विकेट गुमाएर १२७ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपाल दुई बल बाँकी छँदा सबै विकेट गुमाएर ७९ रनमै अलआउट भयो ।

    नेपालकी इन्दु बर्माले २० बलमा १ चौकासहित १५ रन बनाइन् भने सीता रानामगरले ८ बलमा ३ चौकासहित सर्वाधिक १३ रनमा आउट भइन् । इन्दु र सीताबाहेक अन्य खेलाडीले दोहोरो अकंमा रन बनाउन सकेनन् ।

    त्यस्तै, कविता कुँवर ४, रुविना क्षेत्री बेलबासे २, सरिता मगर ८, कविता जोेशी १ र करुणा भण्डारी २ रनमा आउट भए भने काजल श्रेष्ठ ८, अप्सरी बेगम ४ तथा करुणा भण्डारी २ रनमा आउट भए ।

    बलिङतर्फ यूएईकी समायरा धरणीरकाले ४ विकेट लिइन् भने खुशी शर्मा र चमानी सेनेविरत्नेले २–२ विकेट लिए । चया मुगलको नाममा १ विकेट लिए । त्यसअघि आईसीसी एकेडेमी ग्राउन्ड नम्बर २ मा टस हारेर ब्याटिङ पहिले व्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२७ रन बनाएको थियो । यूएईकी चमानी सेनेवित्नेले सर्वाधिक ५२ रनको योगदान दिइन भने थ्रीथा सतिसले ४७ रन जोडिन । काभिसा इगोडागेले २२ रन जोडिन् ।

    नेपालका कविता कुँवरले २ विकेट लिइन् भने सबनम राई, सीता रानामगर र सङ्गीता राईले १–१ विकेट लिए । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भूटानलाई ८ विकेटले पराजित गरेको थियो । त्यस्तै नेपालले आफ्नो तेस्रो खेलमा कुवेतलाई ९ विकेट र चौथो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार