काठमाडौं । स्मार्ट सेलको करिब पाँच अर्ब हिनामिना प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पनि छानबिनमा तानिएका छन् । यस प्रकरणमा भण्डारीको दोहोरो र शंकास्पद भूमिका देखिएको छ ।
सुरुमा उनले एनसेल आजियाटाका सञ्चालक शतिसलाल आचार्यसँग मिलेर गैरकानूनी रुपमा स्मार्ट सेलको उपकरण लिलामीमा साथ दिएका थिए । तर, पछि कुरा नमिलेपछि आफु चोखिनका लागि प्रधानमन्त्री कार्यालयदेखि नेपाल राष्ट्र बैंकलाई भण्डारीले नै गुहारेको खुलेको छ ।
उनको शंकास्पद भूमिकाबारे हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले छानबिन गरिरहेको स्रोत बताउँछ ।
राष्ट्र बैंक स्रोतका अनुसार नेपाल राष्ट्र बैंकलाई पत्र लेख्दै सीआईबीले भण्डारीको बैंक खाताको विवरण मगाएको छ । राष्ट्र बैंकले मंगलबार सबै बैंक तथा वित्तिय संस्थासँग उनको आर्थिक कारोबारको विवरण झिकाएको स्रोत बताउँछ ।
भण्डारी कुनै समय तत्कालिन स्पाइस नेपालको सीएफओ थिए । रसियन भाइजर समूह र उपेन्द्र महतोले स्पाइस नेपाल सञ्चालन गरेको बेला भण्डारी सीएफओ थिए । करिव ९ महिना काम गरेर भण्डारी चाहिं सतिशलालकै योजनामा विदेशिएका थिए । स्पाइस नेपाल पछि एनसेल आजियाटा बनेको थियो ।
राज्यको अर्बौं राजश्व छल्दै आएको एनसेलको बोर्ड नै अबैध, चारैतिर सेटिङ !
त्यही बेलादेखि नै भण्डारीको एनसेलका सञ्चालकहरुसँग हिमचिम थियो । पछि रेखा शर्मा सञ्चारमन्त्री भएको बेला उनको पिए भए । एनसेलको समेत लबिङमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले उनलाई दूरसञ्चार प्राधिकरणको अध्यक्ष बनाएको थियो ।
पछि एनसेलसँग आर्थिक सम्बन्ध बिग्रिएपछि उनले यो प्रकरणलाई उचालेको प्राधिकरणकै एक अधिकारीले अनलाइन नेपालसँग बताए ।
छानबिनको क्रममा उनले स्मार्ट सेलका सम्पत्ति सरकारको मातहतमा ल्याउन कुनै प्रयास नगरेको र लिलामको पनि प्रक्रिया धेरै अघि बढीसकेपछि मात्र रोक्न पत्राचार गरेको देखिन्छ ।
सुरुवातमा उनले एनसेललाई सघाएका थिए । सोही आधारमा आर्थिक लाभ लिएको आशंकामा उनको बैंक खाताको विवरण प्रधानमन्त्री कार्यालयको निर्देशनमा सीआइबीले मगाएको स्रोत बताउँछ ।
सीआइबीबाट पर्याप्त प्रमाण नपुगेमा उनीमाथि छानबिन गर्न अख्तियार दुरुप्योग अनुसन्धान आयोगलाई पत्राचार गर्ने तयारी छ ।
भण्डारी तिनै व्यक्ति हुन्, जसलाई सतिशलाल आचार्यले नै बुरुन्डीस्थित स्मार्ट टेलिकमको सीइओ बनाएका थिए । त्यहाँ पनि करछली लगायतका कारणले चलाउन नसकेपछि कम्पनी नै बन्द भइसकेको छ । सन् २०२२ मा उक्त कम्पनी बन्द भएको हो ।
कम्पनीले कर नतिरेपछि त्यहाँको सरकारले सूचना समेत निकालेको थियो ।
नेपालमा पनि एनसेल करछली लगायत अनेक घोटालामा मुछिंदै आएको छ । यसका अवैध सञ्चालक रहेका सतिशलाल यो प्रकरणको अनुसन्धान रोक्न पनि लागिपरेका छन् । अवैध सम्पत्ति लुकाउनकै लागि उनले सिंगापुरको नागरिकता लिएर धेरै सम्पत्ति विदेश पुर्याएका छन् ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई साढे चार अर्ब ऋण व्यक्तिगत रुपमा तिुर्नपर्नेमा उनले स्मार्ट सेलको उपकरण बेचेर सेटल गर्ने योजना बनाएका थिए । त्यसमा बैंक समेत छानबिनमा तानिएको छ ।
बैंकका सीइओ ज्योतिप्रकाश पाण्डे पक्राउ परि साधरण तारेखमा छुटिसकेका छन् । उनी बैंक फर्किसकेका छन् । तर, सतिशलाल र उनका भाइ सचिनलाल तथा भुपेन्द्र भण्डारीहरु भने अझै पक्राउ परेका छैनन् ।
सीआइबीले यस प्रकरणमा ६ जना पक्राउ गरेकोमा सबैजना छुटिसकेका छन् । अनुसन्धान एनसेलमा पुगेपछि रोकिएकाले कतै यसमा चलखेल भएको त होइन ? भन्ने आशंका पनि उब्जिएको छ ।
यो भ्रष्टाचारसँग पनि जोडिएकाले अख्तियारबाट समेत छुट्टै छानबिन गर्ने सम्भावना छ ।