धनगढी । कैलालीको धनगढीस्थित मोहना नदी किनारमा बेवारिसे अवस्थामा फेला परेका २० वर्षीय युवकको हत्या भएको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतबार धनगढी उपमहानगरपालिका–९ त्रिवेणीघाटस्थित मोहना नदी किनारमा मृत फेला परेका युवकको प्रारम्भिक अनुसन्धानपछि हत्या भएको पुष्टि भएको हो ।
मृतक कैलारी गाउँपालिका–९ गदरियाका २० वर्षीय राजकुमार राना हुन् ।
प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार रानामाथि कुटपिट गरी हत्या गरिएको र त्यसपछि शव मोहना नदी किनारमा फालिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
घटनामा संलग्न भएको आरोपमा धनगढी उपमहानगरपालिका–८ का ६० वर्षीय बम्मन राना र ५८ वर्षीया भँगु रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूसहित चार जनाको समूहले मिलेर हत्या गरेको आशंका गरिएको छ ।
अन्य दुई जना भने फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको छ । पक्राउ परेकाहरू विरुद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।