काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ ले जेनजी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गरिने बताएका छन्।
मंगलबार गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले आन्दोलनका क्रममा दर्ता भएका मुद्दाबारे कानुनी तथा प्रशासनिक अध्ययन अघि बढाइने संकेत दिएका हुन्।
जेनजी आन्दोलनमा सहभागी भएकाहरूविरुद्ध प्रहरीले विभिन्न फौजदारी मुद्दा दर्ता गरी अनुसन्धान तथा अभियोजन प्रक्रिया अघि बढाएको छ।
केही अभियुक्तहरू पुर्पक्षका लागि थुनामा रहेका छन् भने मुद्दा खेपिरहेका धेरैजना अदालतको प्रक्रियामा छन्।
जेनजी आन्दोलनका अगुवा उपार्जुन चाम्लिङ का अनुसार आन्दोलनसँग सम्बन्धित घटनामा हालसम्म ९३५ जनाविरुद्ध मुद्दा दर्तागरिएको छ।
आन्दोलनमा सहभागी भएकै कारण आफूहरूका छोराछोरी थुनामा परेको भन्दै अभिभावकहरूको एक समूहले करिब एक महिनादेखि काठमाडौंको माइतीघर मण्डलामा निरन्तर धर्ना दिँदै आएको छ।
आन्दोलनकारी पक्षले पक्राउ परेकाहरूको रिहाइको माग गर्दै विभिन्न राजनीतिक दल तथा सरोकारवाला निकायको ध्यानाकर्षण गराउने प्रयाससमेत गरिरहेका छन्।
सोही क्रममा उनीहरूले केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय अगाडि पनि धर्ना दिएका थिए।
चाम्लिङका अनुसार गृहमन्त्री गुरुङले शपथ ग्रहण गरिरहेका बेला पनि आन्दोलनकारी तथा अभिभावकहरूको समूहले शीतल निवास बाहिर प्रदर्शन गर्दै मुद्दा फिर्ता र बन्दीहरूको रिहाइको माग दोहोर्याएको थियो।