Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

नेता रिसाए कि भनेर होइन, जनता किन रिसाए भनेर चिन्ता गर्नुस् : गगन थापा

नेता रिसाए कि भनेर होइन, जनता किन रिसाए भनेर चिन्ता गर्नुस् : गगन थापा

मंगलवार , जेठ २६, २०८३

गोरखा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले पार्टीका नेता–कार्यकर्तालाई नेता खुसी वा असन्तुष्ट भएको विषयमा भन्दा जनताको विश्वास कसरी जोगाउने भन्ने विषयमा केन्द्रित हुन आग्रह गरेका छन्।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै थापाले पार्टीको चुनाव चिह्नमा मतदान गर्ने जनता किन असन्तुष्ट भए भन्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

‘फलानो नेता रिसाए कि, ढिस्कानो नेता रिसाए कि भनेर चिन्ता गर्न छाड्नुस्। पार्टीको चुनाव चिह्नमा भोट हाल्ने जनता किन रिसाए भनेर चिन्ता गर्नुस्,’ उनले भने, ‘माथि र केन्द्रको कुरा म मिलाउँछु, तल जिल्ला र गाउँ–टोल तपाईंहरू मिलाउनुस्।’

थापाले पछिल्लो निर्वाचनमा कांग्रेसले अपेक्षित नतिजा हासिल गर्न नसक्नुको प्रमुख कारण जनतामा बढ्दो असन्तुष्टि रहेको उल्लेख गर्दै जनताको भरोसा पुनः जित्न पार्टी पंक्ति सक्रिय हुनुपर्ने बताए।

उनले पार्टीको साधारण सदस्य नै संगठनको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै सदस्यहरूको सम्मान, संरक्षण र सहभागितालाई संस्थागत गर्नुपर्ने धारणा राखे।

सभापति थापाले आगामी २०८४ सालको निर्वाचनमा उम्मेदवार छनोटको प्रक्रिया माथिबाट थोपर्ने नभई तल्लो तहबाट तय गर्ने लक्ष्य रहेको बताए।

‘अँध्यारो कोठामा बसेर यो हाम्रो मान्छे, त्यो फलानोको मान्छे भन्ने दिन अब सकिनुपर्छ,’ उनले भने, ‘गोरखा नगरपालिकाको मेयरको टिकट कसलाई दिने भन्ने निर्णय गोरखा नगरपालिकाकै पार्टी पंक्तिले गर्नेछ।’

उनले पार्टीभित्र तल्लो तहका सदस्यहरूको अभिमतलाई संस्थागत गर्दै निर्णय प्रक्रियामा प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077