काभ्रेपलाञ्चोक । काभ्रेका विभिन्न क्षेत्रमा मंगलबार मध्याह्नदेखि भइरहेको भीषण वर्षाका कारण रोशी खोलामा पानीको बहाव उच्च भएपछि बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
वर्षाले रोशी खोलामा पानीको बहाब उच्च भएसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न १२ः३० बजेदेखि सवारी सञ्चालनमा रोक लगाएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मंगलबार मध्याह्नदेखि बनेपा, पनौती, धुलिखेल, नमोबुद्ध तथा रोशीको माथिल्लो तटीय क्षेत्रमा अत्यधिक वर्षा भइरहेको छ।
माथिल्लो क्षेत्रमा लगातार भएको भीषण वर्षाका कारण रोशी खोलामा पानीको सतह खतरनाक विन्दुमा पुगेको र सडक कटानको जोखिम समेत बढेको छ ।
यसैबीच रोशीको चारसयबेशीनजिक पहिरो समेत गएको छ । विष्टले पानीको बहाव कम तथा चारसयबेशीको पहिरो पन्छाएरपछि मात्रै सडक खुल्ने काभ्रे प्रहरीले जनाएको छ ।
अहिले राजमार्ग हुँदै जाने सवारीसाधनहरु जिल्लास्थित धुलिखेलमा र सिन्धुली जिल्लासँग सहकार्य गरेर खुर्कोट र नेपालथोकमा होल्ड गरिएकका छन् ।
बेमौसमी वर्षाले दिनानुदिन बिपी राजमार्ग अवरुद्ध हुन थालेपछि रातको समयमा गराउँदै आएको अनिश्नितकालीन बन्द पुनः लम्बिएको छ । सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न प्रहरीले सबैलाई अपिल गरेको छ ।