काठमाडौं । सार्वजनिक स्थानदेखि साना–ठूला किराना पसल, सार्वजनिक सवारी साधन तथा स्टार होटलहरुसम्म विज्ञापनका ठूलठूला होर्डिङ बोर्ड राखेर प्रचारप्रसार गर्दै आएको इनर्जी ड्रिंक्स एक्सट्रिमले राजश्व समेत छली गर्दै आएको पाइएको छ ।
चिकित्सकहरुले नै स्वास्थ्यका लागि उपयुक्त नभएको भनेर प्रमाणित गरेको उक्त पेय पदार्थ अहिले बजारमा छ्याप्छ्याप्ती पाइन्छ ।
आकर्षक प्याकेजिङ, लोभलाग्दो विज्ञापन र मिठो स्वाद भएको भन्दै विशेषगरी युवा तथा बालबालिकाहरुलाई आफ्नो उत्पादनप्रति सकारात्मक सन्देश प्रदान गर्दै आएको एक्सट्रिम इनर्जी ड्रिंक्स स्वास्थ्यका लागि उपयुक्त नभएको चिकित्सकहरुले नै बताइसकेका छन् ।
पछिल्लो समय एक्सट्रिम इनर्जी ड्रिंक्सले ‘स्क्यानमा छ सुन’, ‘वर्ल्ड कप एक्स्ट्रिम इनर्जी ड्रिंक फ्यान’ जस्ता विज्ञापन बनाएर उपभोक्ताहरुमाझ ठगी गर्दै आएकाके छ ।
एक्सट्रिमले स्वास्थ्यमा पार्ने असरबारे उपभोक्ता अझै सचेत नभएको मौका छोपी उल्टै राजश्व छली गरेर विक्री वितरण हुँदै आएको छ । यसको पछिल्लो उदाहरण काभ्रेको बनेपामा भेटिएको छ ।

काभ्रे प्रहरीले बिलबिजक नभएको सामान सहित बलेरो गाडी नियन्त्रणमा लिंदा ३ हजार ६ सय वटा एक्सट्रिम इनर्जी ड्रिंक्स फेला परेपछि राजश्व छली गरेको पुष्टि भएको हो ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित तरकारी बजार क्षेत्रमा रहेको एक गोदामबाट प्रहरीले बिलबिजक नभएका लाखौं मूल्यका सामानसहित बलेरो गाडी नै नियन्त्रणमा लिएको छ ।
प्रहरीको चेकजाँचका क्रममा बा.३ ख २२१३ नम्बरको बलेरो गाडीबाट गोदाममा झारिँदै गरिएको एक्सट्रिम इनर्जी ड्रिंक्स र बाम बाम लेखिएको पेय पदार्थ नियन्त्रणमा लिएको हो।
'एक्सट्रिम इनर्जी ड्रिंक्स’ : स्वास्थ्यका लागि हानिकारक
प्रहरीका अनुसार करिब ५ लाख रुपैयाँ बराबरको सामान र ढुवानीमा प्रयोग भएको बलेरो गाडी समेत बरामद गरिएको छ।
बरामद सामान तथा सम्बन्धित व्यक्तिलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग, पुल्चोक पठाइएको काभ्रे प्रहरीले जनाएको छ।
अवैध कारोबार र राजस्व छलिको नियन्त्रणमा प्रहरीको सक्रियता जारी रहेको भन्दै सम्बन्धित निकायले कानूनी प्रक्रिया अघि बढाएको जनाएको छ।
यो त एउटा उदाहरण मात्रै हो । एक्सट्रिम इनर्जी ड्रिंक्सले यसरी विना विल विजक उपत्यकामा मात्रै होइन, उपत्यका बाहिर गाउँ-गाउँमा रहेका पसलहरुमा समेत सामान पठाउँदै आएको प्रशस्तै उदाहरणहरु छन् ।
एक्सट्रिम इनर्जी ड्रिंक्स स्वास्थ्यका लागि कति हानिकारक ?
एक्सट्रिम इनर्जी ड्रिंक्सले मधुमेह, पेट र पाचनमा समस्या, मुटु रोग, किड्नीमा समस्या र हड्डी कमजोर बनाउने जस्ता गम्भीर समस्या निम्त्याने चिकित्सकहरु बताउँछन् ।
एक्सट्रिम इनर्जी ड्रिंक्समा कार्बोनेटेड पानी, ग्लुकोज–फ्रुक्टोज सिरप, एसिडिटी रेगुलेटर (ई ३३१, ई ३३०) जस्ता तत्वहरु मिसाइएको पाइन्छ। तीमध्ये ग्लुकोज–फ्रुक्टोज सिरपको अत्यधिक सेवनले मधुमेहको जोखिम बढाउने स्वास्थ विज्ञहरू बताउँछन्।
त्यस्तै, यो ड्रिंक्स्समा इ १५०डी र ई१०४ रङको प्रयोग गरिएको छ । जुन रङ बारम्बार सेवन गर्दा स्वास्थ्यमा दीर्घकालीन जोखिम हुने चिकित्सक नै बताउँछन् । अझ गम्भीर कुरा ई१०४ रङले बालबालिकामा अति चञ्चलता बढाउन सक्ने भएकाले कतिपय देशले यसको प्रयोगमा सीमितता लागू गरेका छन् ।
यही कारणले कतिपय देशहरूले यस्तो रङको प्रयोगमा कडाइसमेत गरेका छन्। त्यसैगरी, उक्त पेयपदार्थमा क्याफिन, टाउरिन, विभिन्न फ्लेवर र प्रिजरभेटिभ्स जस्ता कृत्रिम तत्वहरू पनि मिसाइएको पाइन्छ, जसले शरीरमा तत्काल ‘ऊर्जा’ दिने जस्तो महसुस गराए पनि स्वास्थमा दीर्घकालीन रुपमा नकारात्मक असर पुर्याउने स्वास्थ क्षेत्रका जानकारहरु बताउँछन्।
डा. मनिष यादवले इनर्जी ड्रिंक्स्समा मिसाइएको कृत्रिम वस्तुले मस्तिष्कलाई असर पार्ने बताएका छन् । उनले भनेका छन्–‘यस्तो इनर्जी ड्रिंक्समा हुने भनेको केमिकल मात्रै हो, त्यसमा पनि विशेष क्याफिन, टाउरिन र अरु केमिकल हुन्छ जसले ब्रेनमा स्टिमुलेन्टको काम गर्छ, उत्तेजित पार्ने काम गर्छ ।
यो क्याफिन अरु स्टिमुलेटिङ केमिकलहरू बच्चाहरूको बन्दै मस्तिष्कमा यसले विशेष किसिमको साइड इफेक्ट गराउँछ, यो केमिकलले बच्चाहरूको बन्दै गरेको मस्तिष्कलाई स्टिमुलेट गर्ने काम गर्छ ।’
चिकित्सकहरुका अनुसार, यस्ता इनर्जी ड्रिंक्स्समा रहेका केमिकलहरूले मस्तिष्कमा प्रत्यक्ष असर पार्छन्। क्याफिन र टाउरिनजस्ता तत्वले ‘स्टिमुलेन्ट’को रूपमा काम गर्दै मस्तिष्कलाई अत्यधिक उत्तेजित बनाउँछन्। विशेषगरी बालबालिका र किशोरावस्थाको मस्तिष्कमा यसको असर अझै गम्भीर हुने स्वास्थ बिज्ञहरु बताउँछन्।
यस्ता इनर्जी ड्रीङ्क्सले एन्जाइटि, चिडचिडापन, अत्यधिक उत्तेजना र आक्रामक व्यवहार, निद्रा नलाग्ने समस्या, ध्यान केन्द्रित गर्न नसक्ने अवस्था, हातखुट्टा काँप्ने र टाउको दुख्ने जस्ता विभिन्न स्वास्थ समस्या निम्त्याउँछन्।