काठमाडौं । देशका विभिन्न भागमा आएको बाढी र पहिरोका कारण प्रमुख राजमार्गहरू गम्भीर रूपमा प्रभावित भएका छन् ।
आइतबार बिहान ८ बजेसम्मको विवरणअनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका धेरै सडक खण्डमा पूर्ण वा आंशिक रूपमा यातायात अवरुद्ध भएको छ।
सबैभन्दा बढी असर कोशी प्रदेशमा परेको छ। पाँचथरमा रहेको मध्यपहाडी लोकमार्ग अन्तर्गत याङवरक गाउँपालिका–३ ओयाम बजार र रिजालभिर तथा वडा नं. २ दोभान क्षेत्रमा सडक पूर्ण रूपमा बन्द भएको छ।
जेठ ८ गतेको बाढी–पहिरोपछि उक्त खण्डमा अझै आवागमन सुचारु हुन सकेको छैन। यसै प्रदेशको भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा बाढीले क्षति पुर्याएको मध्यपहाडी लोकमार्ग भने हाल एकतर्फी रूपमा सञ्चालनमा छ।
यात्रुलाई सहज बनाउन वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको छ। त्यसैगरी संखुवासभाको मकालु गाउँपालिका–३ नयाँ बस्ती क्षेत्रमा पर्ने कोशी राजमार्ग पनि पहिरोका कारण एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ।
बागमती प्रदेशमा भने सम्भावित जोखिमलाई ध्यानमा राख्दै काभ्रेपलाञ्चोकस्थित बीपी राजमार्ग पूर्ण रूपमा बन्द गरिएको छ। वैशाख २२ गतेदेखि खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्डमा सवारी आवागमन रोकिएको छ।
कर्णाली प्रदेशको हुम्ला जिल्लामा नाम्खा गाउँपालिका–२ स्थित हिल्सा–सिमकोट सडक खण्डमा पहिरोको जोखिमका कारण यातायात पूर्ण रूपमा बन्द गरिएको छ।
गण्डकी प्रदेशको म्याग्दी जिल्लामा पर्ने बेनी–जोमसोम सडक दुई स्थानमा आएको पहिरोले प्रभावित भएको छ। अन्नपूर्ण गाउँपालिका–३ जलथले र रघुगंगा गाउँपालिका–३ तल्लो बैसरी क्षेत्रमा पहिरो पन्छाए पनि सडक अझै एकतर्फी मात्र सञ्चालनमा छ।