काठमाडौं । विगत एक दशकदेखि सरकारी कर्मचारीदेखि प्रधानमन्त्रीसम्म सेटिङ मिलाएर सरकारी ठूला ठेक्कामा एकछत्र राज गर्दै आएका समानान्तर निर्माण सेवाका सञ्चालक अच्युतप्रसाद खरेल र उनका दाइ केशवप्रसाद खरेलमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुने भएको छ ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि विचौलिया दीपक भट्टसम्मलाई छानविनको दायरामा ल्याएको सम्पत्ति शुद्धीकरण विभागले करोडौं रकमको शंकास्पद कारोबार गरेको आरोपममा खरेल दाजुभाइमाथि अनुसन्धान शुरु गरेको विभाग स्रोत बताउँछ ।
यसअघि राजश्व अनुसन्धान विभागदेखि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसम्मले समानान्तर र खरेल दाजुभाइमाथि छानविन नगरेको भने होइन ।
विभागले लामो अनुसन्धानपछि समानान्तरका सञ्चालक तथा निर्देशक केशवप्रसाद खरेलमाथि मुद्दा चलाउन सिफारिस गरेको थियो । तर, तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट सम्बन्ध बनाएकै कारण खरेल दाजुभाइमाथि कुनै कारबाही हुन सकेको थिएन ।
सरकारी निर्माणका ठूला र आकर्षक ठेक्काहरुमा एकाधिकार जमाउँदै आएको ठेकेदार कम्पनि समानान्तरका सञ्चालकको खातामा शंकाष्पद रकमान्तर भएको भेटिएपछि विभागले अहिले शुक्ष्म रुपमा अनुसन्धान थालेको बताइएको छ ।
विभाग स्रोतका अनुसार खरेलको बैंक खातामा अस्वभाविक र शंकाष्पद कारोबार फेला परेको छ । केशवमाथि व्यक्तिगत खातामा कम्पनीको रकम जम्मा गरी कारोबार लुकाइ राजश्व छलि गरेको आरोप लागेको छ ।
सोही अभियोगमा छानबीन र कारबाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले राजश्व अनुसन्धान विभागलाई समेत पत्राचार गरेको स्रोतको दावी छ ।
विभागले उनीमाथि सन् २०१७ देखि २०२१ सम्मका खाता विवरण अनुसन्धान गरेको थियो । ५ वर्षको आवधिमा खरेलको खातामा १ अर्ब १५ करोडको रुपैयाँको शंकाष्पद कारोबार भएको देखिएको थियो ।
उनले अबैध स्रोतबाट प्राप्त धनलाई वैध बनाउन व्यक्तिगत खाता प्रयोग गरेको भेटिएको थियो । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा १० (ख) र ८४ बमोजिम खरेलमाथि मुद्दा चलाउनुपर्ने राय समेत विभागको थियो ।
यदि त्यस्तो कसुर स्थापित भएमा उनीमाथि बिगोको दोब्बर जरिवानासहित २ देखि १० वर्षसम्म कैद सजाय हुन सक्थ्यो । तर, तत्कालिन प्रधानमन्त्री ओलीकै दबावमा खरेलमाथिको छानबीन प्रभावित भएको स्रोतको दावी छ ।
यहि प्रकरणमा बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले पुनः छानविन शुरु गरेको हो । राजनीतिक दलका शिर्ष नेतादेखि व्यापारीसम्म अनुसन्धान गरिरहेको वर्तमान सरकारले आफू र आफ्नो कम्पनीमाथि पनि छानविन शुरु गरेपछि खरेल तिल्मिलाएको स्रोत बताउँछ ।
सेटिङमा देशभरका अधिकांश ठूला ठेक्का हत्याउँदै आएको समानान्तर र त्यसका सञ्चालक खरेलमाथि कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्जनौ उजुरी पर्दा समेत उनी जोगिदै आएका छन् ।
तत्कालिन प्रधानमन्त्री ओली, अख्तियारका पूर्वप्रमुख नवीन घिमिरे, एमाले सचिव महेश बस्नेत, सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका भाइ प्रभु शमशेरलगायतसँगको सेटिङमा खरेलले ठेक्का हत्याउँदै आएका थिए ।
प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ काठमाडौं महानगरपालिकाको मेयर हुँदा खरेलको कम्पनी समानान्तरलाई कालो सूचीमा राख्न सिफारिस भएको थियो । तर, तत्कालिन प्रधानमन्त्री ओलीले नै खरेललाई जोगाएका थिए ।
काठमाडौं महानगरको वसुन्धरादेखि म्हैपीसम्म ढल निर्माणको ठेक्कामा ‘गलत विवरण’ पेस गरेको भन्दै समानान्तरविरुद्ध महानगरपालिकाले सार्वजनिक खरिद अनुगमन कार्यालयमा कारबाही सिफारिस गरेको थियो ।
ठेक्कामा गलत विवरण पेस गरेपछि महानगरले खरेल सञ्चालक रहेको ठेकेदार कम्पनी समानान्तरलाई कालोसूचीमा राख्नुपर्ने निष्कर्ष निकालेको थियो ।
तर, त्यतिबेला खरेलको कम्पनीलाई कारबाही गर्नुको सट्टा उल्टै काठमाडौं महानगरकै कर्मचारीहरुमाथि अख्तियारले डन्डा चलाएको थियो ।
समानान्तरले बोलपत्र आह्वान हुँदा नै आफूअनुकुलका स्पेसिफिकेसन राखी ठेक्का हत्याउने गरेको कतिपय ठेक्काबाटै पुष्टि भएको छ । काठमाडौं महानगरकै भवन निर्माणको ठेक्कामा समानान्तरले मिलेमतो गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा नै दायर गरेको थियो ।
तर, ठेक्का पाएको कम्पनी समानान्तरलाई जोगाएर अख्तियारले उल्टै महानगरका कर्मचारीहरुलाई मुद्दा चलाएको थियो ।
अच्युत प्रसाल खरेलमाथि रामशाहपथमा निर्माणाधिन सर्वाेच्च अदालतको भवनको ठेक्का, भक्तपुर जिल्ला अदालतको ठेक्का, राष्ट्रपति निवासको नयाँ भवन निर्माण, राष्ट्रपति कार्यालयको पुरानो भवनको मर्मत सुधार, विशालनगरको रेल्वे विभागको भवन निर्माण, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको भवन निर्माण, काठमाडौं उपत्यका विकास प्राधिकरणको भवन निर्माण, राहदानी र कन्सुलर विभागको त्रिपुरेश्वरको भवन निर्माण, जल तथा मौसम विज्ञान विभागको भवन निर्माण, रक्षा मन्त्रालयको भवन बनाउने ठेक्कामा समेत सेटिङ गरेको आरोप लाग्दै आएको छ ।
त्यसो त औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, बालाजुको ठेक्का, राष्ट्रिय प्राणी उद्यानको ठेक्का बालुवाटारमा नेपाल राष्ट्र बैंकको भवन बनाउने ठेक्का, गोदावरी सनराइज सम्मेलन केन्द्र ठेक्का र महान्यायाधिवक्ताको कार्यालयको ठेक्कासमेतको ठेक्का समानान्तरले नै पाउनुमा आशंका उब्जिएको छ ।
यतिमात्रै होइन ललितपुरको भैसेपाटीमा निर्माण सम्पन्न भइसकेको प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको सम्पर्क तथा आवास भवनको ठेक्का र नेपाल आयल निगमको बबरमहलमा निर्माण सम्पन्न भवनको ठेक्का पनि समानान्तरले नै सेटिङमा पाएको थियो । कतिपय ठेक्का भने उनले ह्याकिङ गरेर हत्याएको आरोप लागेको छ ।
सीआईबीले ठेक्का ह्याकिङ प्रकरणमा १३ जना ठेकेदारहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । तर, खरेल भने पहुँचकै आधारमा अहिलसम्म जोगिदै आएका छन् ।
समानान्तरले निर्माण गरेकामध्ये गोदावरी सनराइज र महान्यायाधिवक्ताको कार्यालयको भवन निर्माणपछि पानी चुहिएसँगै गुणस्तरमा समेत कम्पनीको निर्माणमा प्रश्न उठेको छ ।
खरेलले नेपाल प्रहरीका भवन निर्माणदेखि फास्ट ट्य्राकको समेत ठेक्का हत्याएका छन् । दुईवटा चिनियाँ कम्पनीसँग जेभी गरेर खरेलले फास्ट ट्य्राकको प्याकेज २ अन्तर्गत सुरुङ र पुल निर्माणणे ठेक्का हत्याएका थिए । उक्त प्रकरणमा ६ वर्ष अघि सार्वजनिक लेखा समितिले ठेक्का नै रद्द गर्न नेपाली सेनालाई पत्राचार नै गरेको थियो ।
खरेलले काभ्रेमा क्रसर सञ्चालन गर्ने देखि आरएमसी प्लान्ट समेत राखेर अवैध रुपमा काम गर्दै आइरहेका छन् । नेपाल प्रहरीमा अधिकांश ठेक्कामा भेरिफिकेसन अर्डर (भिओ) गर्न लगाएर उनले मनपरी गरेको समेत खुलेको छ ।
उनले २० विगा भन्दा बढी जग्गामा फ्रेस केटिएम नामक कम्पनी खोलेर रौतहट, काभ्रे र सर्लाहीलगायतका जिल्लाहरुमा अर्गानिक खेतीका नाममा धन्दा चलाइरहेका छन् । उनीमाथि राम्रोसँग छानविन भएमा हदबन्दी भन्दा जग्गा खरिद गरेको प्रकरणमा समेत कारबाही हुने देखिन्छ । उनले मदन भण्डारी र मध्य पहाडी लोकमार्गको ठेक्का समेत अलपत्र पारेका छन् ।
त्यस्तै जग्गा प्लटिङदेखि हाउजिङसम्म समेत सरकारी कर्मचारीहरुको अवैध रकम लगानी गरेको प्रमाण भेटिने भौतिक मन्त्रालयका एक उच्च अधिकारी दावी गर्छन् ।
विभिन्न ठेक्काबाट लिएको मोविलाइजेसनको रकम जग्गादेखि सेयरसम्म खरिद गरी अनियमितता गरेको उनीमाथि आरोप लागेको छ ।
यतिमात्रै होइन ई–बिडिङ ह्याकिङ प्रकरणमा पनि खरेल दाजुभाइमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धन थालेको स्रोतको दावी छ ।
पूर्वमन्त्री विक्रम पाण्डेसहित एक दर्जन भन्दा बढि निर्माण व्यवसायीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको सीआईबीले समानान्तर र खरेल दाजुभाइमाथि पनि अनुसन्धान थालेको सीआईबी स्रोत बताउँछ ।
पटक–पटक विवदमा तानिएका खरेल दाजुभाइ र उनीहरुको कम्पनी समानान्तर निर्माण सेवामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेसँगै उनीहरु सम्पर्कविहिन बनेका छन् ।
खरेल र उनको कम्पनीले गरेको अपचलनको विषयमा प्रतिक्रियाका लागि अच्यूतप्रसाद खरेललाई पटक–पटक प्रयास गर्दा पनि उनीसँग सम्पर्क हुन सकेन ।