काठमाडौं । विचौलिया दिपक भट्ट समूहसँग सम्बन्धित भनिएको एक लघु बीमा कम्पनीमा गृहमन्त्री सुधन गुरुङको समेत सेयर रहेको खुलेको छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका भट्ट समूहसँग जोडिएको भनिएको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा गुरुङको लगानी रहेको खुलेको हो ।
सार्वजनिक विवरणमा उल्लेख भए अनुसार उक्त कम्पनीमा २५ लाख रुपैयाँ बराबरको सेयर गृहमन्त्री गुरुङको नाममा रहेको भनिएको छ।
उक्त कम्पनीमा व्यवसायी समूहहरू शंकर समूह, ईन्फिनिटी होल्डिङ लगायतसँग आबद्ध व्यक्तिहरूको पनि लगानी रहेको बताइएको छ।
कम्पनीका अध्यक्ष सुजन आचार्य रहेको र सञ्चालकमा प्रजुनी बज्राचार्य समेत रहेको उल्लेख गरिएको छ, जसलाई भट्ट समूहसँग निकट मानिन्छ।
यसैबीच, गुरुङको नाममा रहेको भनिएको सेयर उनको सार्वजनिक सम्पत्ति विवरणमा समावेश नभएको दाबीले थप प्रश्न उठाएको छ। यद्यपि, यस विषयमा गृहमन्त्री गुरुङ वा उनको सचिवालयबाट औपचारिक प्रतिक्रिया आइसकेको छैन।
लघु बीमा कम्पनीहरूको लाइसेन्स वितरण प्रक्रियालाई लिएर पनि विवाद उठेको छ। नेपाल बीमा प्राधिकरणले २०७९ पछि ७ वटा लघु बीमा कम्पनीलाई लाइसेन्स दिएको थियो। उक्त निर्णय तत्कालीन अध्यक्ष सूर्य प्रसाद सिलवालको कार्यकालमा भएको हो ।
सिलवालमाथि लाइसेन्स वितरण प्रक्रियामा ‘सेटिङ’मार्फत सीमित व्यावसायिक समूहलाई फाइदा पुर्याइएको आरोप लाग्दै आएको छ । यससँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ।
