काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेको छ । स्रोतका अनुसार साहलाई हटाउनका लागि पार्टीको शीर्ष तहमा छलफल भइसकेको छ।
कार्यसम्पादन कमजोर वा विवादमा परेकालाई फिर्ता बोलाउने पार्टीको नीति अनुसार साहका विषयमा बाहिर आएका विवादले पार्टीले ‘रीकल’ गर्न लागेको स्रोतको दावी छ ।
साहको विगतको पृष्ठभूमि र पछिल्लोपटक आफ्नी श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा अनधिकृत रूपमा निरन्तरता दिन लगाएको विवादित विषय बाहिर आएका थिए।
साह ९ वर्ष अघि एमविविएस परीक्षामा पास गराईदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेको थिए । तिनै साह अहिले स्वास्थ्य बीमा बोर्ड बैठकमा ८ पटकसम्म अनुपस्थित भएपछि हटाइएकी आफ्नी श्रीमती जुनु श्रेष्ठलाई पुनः बोर्डमा निरन्तरता दिलाउन दबाब दिएको विषयमा विवादमा परेका छन् ।
प्रधानमन्त्री बालेन्द्र ‘बालेन’ शाह र पार्टी सभापति रवि लामिछानेबीचको सल्लाहपछि साहलाई फिर्ता बोलाउने तय भएको बुझिएको छ ।
८ पटकसम्म अनुपस्थित भएर कारबाहीमा परेकी श्रममन्त्री पत्नी श्रेष्ठ कसरी भईन बोर्ड बैठकमा सहभागी ?
२०७३ असोज १२ गते तत्कालीन महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले कन्सल्टेन्सी सञ्चालक महोत्तरीको गोनरपुरा घर भएका दीपककुमार साह र काउन्सिलिङको काम गर्ने सिन्धुली आम्बोटेका गणेश अधिकारीलाई पक्राउ गरेको थियो।
साह पुतलीसडकमा रहेको वर्ल्डवाइड कन्सल्टेन्सीका सञ्चालक थिए। उनीहरूको समूहले एमबीबीएस पास गराउने भन्दै त्यतिखेर रकम लिएका थिए। काठमाडौं विश्वविद्यालयले लिने एमबीबीएसको प्रवेश परीक्षामा २ लाख रुपैयाँ बुझाउने सहमति भएको थियो। तर पछि विद्यार्थीकी आमाले रकम लिएर पास नहुने देखेपछि प्रहरीमा उजुरी दिएकी थिइन्।
बालेनले बनाएका श्रममन्त्री साह ठगीमा पक्राउ परेका नक्कली डाक्टर रहेको नेपाल प्रहरीकै खुलासा
यस्ता विवादि व्यक्तिलाई मन्त्री बनाएपछि पार्टीभित्र र बाहिरबाट चर्को आलोचना भएको थियो । अहिले पनि श्रीमतीको नाममा विवादमा परेपछि प्रधानमन्त्री शाह र पार्टी सभापति लामिछाने साहलाई फिर्ता बोलाउन तयार भएको बुझिएको छ ।
साह महोत्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन्।