काठमाडौं । नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले झण्डा जलाउने घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै सम्बन्धित पक्षमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ।
युवा संघका अध्यक्ष महाराज गुरुङले शुक्रबार एक विज्ञप्ति निकाल्दै रास्वपालाई यथाशीघ्र सार्वजनिक रूपमा माफी माग्न, यस्ता गतिविधि रोक्न र कार्यकर्तालाई अनुशासनमा राख्न युवा भनेका छन् ।
बिहीबार एमाले महासचिव शंकर पोखरेलको गृहनगर दाङ तुलसीपुर क्षेत्रमा रास्वपाका कार्यकर्ताले नेकपा एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएका थिए ।
त्यसपछि रास्वपा सभापति रवि लामिछानेको स्वागतका लागि भेला भएका कार्यकर्ताले एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध नाराबाजीसमेत गरेका थिए ।
घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी निष्पक्ष अनुसन्धानमार्फत कडा कारबाही गर्न राज्य संयन्त्रसँग माग गरिएको छ।
साथै, सरकारी निकायले विषयलाई उपेक्षा गर्ने वा अराजक गतिविधिलाई प्रोत्साहन गर्ने अवस्थाको सिर्जना भए विद्यार्थी संगठन आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी पनि दिइएको छ।
यसअघि एमालेको नेशनल भोलेन्टियर्स फोर्सले पनि पार्टीको झण्डा जलाइएको भन्दै प्रशासनले कारबाही नगरे प्रतिवादमा उत्रिने चेतावनी दिइसकेको छ।
यद्यपी रास्वपा दाङका सभापति विनय घिमिरेले हिजो राति नै विज्ञप्ति निकाल्दै शुभेच्छुकहरूको उत्साहजनक उपस्थितिले अत्तालिएकाहरूले घुसपैठ गरी भ्रमपूर्ण वातावरण सिर्जना गरेको जिकिर गरेका छन् । उनले झन्डा जलाउने कार्यमा पार्टीको संलग्नता नरहेको प्रष्टीकरणसहित संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।