चितवन । दशैंको रौनकले देशभर चहलपहल ल्याइरहेका बेला घर जान नसकेका बिरामीहरूले भने चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमै टीका र जमरा लगाएका छन् । अस्पतालका नर्सहरूले बिरामीहरूको वेडमै पुगेर टीका, जमरा र शुभकामना बाँड्दै दशैंको खुशी साटेका हुन् ।
नयाँ मेडिकल कलेजका रूपमा परिचित सिएमसीमा उपचाररत बिरामीहरू चाडको समयमा परिवारदेखि टाढा रहनुपरेको पीडा बोकेका थिए । तर, नर्सहरूको आत्मीय व्यवहारले ती बिरामीहरूलाई केही क्षण भए पनि परिवारकै माया महसुस गराइदिएको हो ।
'बिरामीहरूलाई परिवार टाढा हुँदा अझ बढी भावनात्मक साथको खाँचो पर्छ। टीका, जमरा र केही मिठा शब्दहरूले उनीहरूलाई केही क्षण भए पनि खुसी दिलाउने प्रयास गरेका हौं,' अस्पतालकी नर्स विनिता गुरूगंले भनिन् ।
यस अवसरमा अस्पतालका विभिन्न वार्डहरूमा रहेकाहरूलाइ टीका, जमरा र आशीर्वाद दिइएको थियो। कतिपय बिरामी र तिनका आफन्तहरू भावुक बनेका दृश्यहरू पनि देखिन्थेँ ।
अस्पताल प्रशासनका अधिकृत हरि बोहराका अनुसार यस्ता सामाजिक कार्यक्रमहरूले बिरामीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले प्रत्येक वर्ष दशैं, तिहारलगायत चाडपर्वमा निरन्तर रूपमा आयोजना हुँदै आएको छ।