काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ११ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।
कार्यालयले भदौ ८ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सोमबार उनीहरूलाई कालोसूचीमा राखिएको सूचना प्रकाशित गरेको हो ।
कालोसूचीमा परेका कम्पनीहरुमा होमबहादुर बस्नेत मुख्य व्यक्ति रहेको विशाल होम निर्माण सेवा उदयपुर, सुन्दर श्रेष्ठ मुख्य व्यक्ति रहेको जलेश्वरी महादेव यासवि कन्स्ट्रक्सन बूढानीलकण्ठ काठमाडौं, मयंक शाह मुख्य व्यक्ति रहेको सगुन फेब्रिक्स प्राइभेट लिमिटेड मोरङ लगायत छन् ।
यसैगरी रामबहादुर बुढा मुख्य व्यक्ति रहेको शुभ आर.एस. बिल्डर्स सप्लायर्स बाँके, छत्रबहादुर बुढा मुख्य व्यक्ति रहेको नविन निर्माण सेवा अछाम, मिथुन चन्द मुख्य व्यक्ति रहेको जे.एम.सी कन्स्ट्रक्सन प्रालि सुर्खेत, माधव घिमिरे मुख्य व्यक्ति रहेको कास्यम निर्माण सेवा एण्ड सप्लायर्स काठमाडौं पनि कालोसूचीमा परेका छन् ।
यस्तै कृष्णकुमार राई मुख्य व्यक्ति रहेको ग्यालेक्सी कन्स्ट्रक्सन एण्ड सप्लायर्स कम्पनी प्रालि काठमाडौं, सिताराम श्रेष्ठ मुख्य व्यक्ति रहेको जालपा निर्माण सेवा एण्ड सप्लायर्स काठमाडौं, कर्णबहादुर बुढा मुख्य व्यक्ति रहेको मष्टा भवानी निर्माण सेवा डोल्पा र सहिदिन मियाँ मुख्य व्यक्ति रहेको शहीद निर्माण सेवा अर्घाखाँची पनि कालोसूचीमा परेका छन् ।
कास्यप निर्माण सेवा एण्ड सप्लायर्स दुई वर्षका लागि, मष्टा भवानी निर्माण सेवा डेढ वर्षका लागि र अन्य सबै एक वर्षका लागि कालोसूचीमा परेका छन् ।
अनुगमन कार्यालयले दिएको जानकारीअनुसार कालोसूचीमा परेका ती निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।