काठमाडौं । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध समुदायले एक महिनासम्म मनाएको गुँला पर्व आज सम्पन्न भएको छ । यस वर्ष यो पर्व साउन २१ गतेदेखि सुरु भएको थियो ।
सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवान्को भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध, चैत्यको परिक्रममा गरी एक महिनासम्म यो पर्व मनाइएको हो ।
नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौँ र ‘ला’ को अर्थ महिना अर्थात गुँलाको अर्थ नवौँ महिना भन्ने बुझिन्छ । यो पर्व विभिन्न स्थानीय बौद्ध चैत्यहरुको परिक्रमा गरी सम्पन्न भएको हो । ‘गुँ’ को अर्थ गुण गर्ने, राम्रो एवं गुनिलो काम, अरुको उपकार गर्ने कामलाई जनाउने र ‘ला’ को अर्थ महिना भएको बौद्ध गुरु श्रीभद्र बज्राचार्यले जानकारी दिए ।
बौद्ध समुदायबाहेक हिन्दू धर्मावलम्वीका नेवार समुदायले पछिल्लो समय यो पर्व मनाउन थालेका स्थानीय संस्कृतकर्मी रामशेखर शाक्यले बताए ।
यो पर्वमा प्रत्येक दिन गुँला बाजा एवं नौ बाजा बजाएर विभिन्न मठमन्दिर, बौद्ध बिहार, चैत्यहरु परिक्रममा गरिने, एक महिनासम्म ब्रतालुले नुन नखाई एक छाक मात्र खाने र पर्व अवधिभर बिहान बेलुका पूजा अर्चना गर्ने चलन छ ।
दर्शन गर्न जाँदा विभिन्न बाजागाजा बजाएर स्लोक मन्त्रोचारण गरेर मठमन्दिर, चैत्य, बिहार परिक्रमा गर्ने गरिन्छ । गुँला पर्वमा भक्तपुर, मध्यपुरथिमि, काठमाडौं, ललितपुर र कीर्तिपुर परिक्रमा गर्ने परम्परा छ ।
यस पर्वमा विशेषगरी स्वयम्भू महाचैत्य, बौद्ध चैत्य, स्थानीय बहाः, बही, चैत्यलगायत उपत्यकाका विभिन्न चैत्यस्थलको दैनिक परिक्रमा गरिएको थियो ।
यो पर्वमा राँगा, भेडाको सिङबाट बनाइएको ‘न्याकुँ’ बाजा, दाफा, धाः, बाँसुरी, धिमे, भुस्यालगायत नौ बाजा बजाएर परिक्रमा गर्ने गरिन्छ ।