काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रशोधित पिउने पानीको जारहरूको गुणस्तर अनुगमनलाई तीव्र बनाएको छ।
कृषि तथा पशुपन्छी विभाग र महानगर प्रहरी बलको संयुक्त चेकपोस्टमार्फत गरिएको अनुगमनमा पछिल्लो दश यता महानगरका विभिन्न क्षेत्रमा मापदण्डविपरीतका २ सय ६४ थान जारहरू बरामद गरी नष्ट गरिएका छन्।
महानगरका अनुसार गत शुक्रबार काठमाडौं ३ मा १५ गाडीमा फेला परेका ५८ थान, बुधबार १६ नम्बर वडामा भेटिएका १३ गाडीमा फेला परेका ४१ थान र यसअघि कोटेश्वरमा ६८ थान, गोङ्गबुमा ५८ थान र बल्खु क्षेत्रबाट ३९ थान कुच्चिएका र अपारदर्शी जारहरू जफत गरि महानगर प्रहरी बलको सहयोगमा नष्ट गरिएको छ।
अनुगमनका क्रममा पानी उत्पादक तथा वितरकहरूलाई मापदण्डविपरीतका जारहरू बिक्री-वितरण नगर्न, लेबल स्पष्ट राख्न र पानीको गुणस्तरप्रति संवेदनशील भई नागरिकको स्वास्थ्यप्रति जिम्मेवार बन्न काठमाडौं महानगरले निर्देशन दिएको छ।