काठमाडौं । जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई बाढीसम्बन्धी पूर्वसूचना फोनकलबाटै दिने भएको छ ।
बाढी आउने खतरा देखिएमा एसएमएसमार्फत सन्देश प्रवाह गर्दै आएको विभागले पूर्वसूचनालाई थप प्रभावकारी बनाउन अबदेखि भने ‘भ्वाइस कल’सेवा सुरु गर्ने तयारी थालेको हो ।
विभागका बाढीविद् विनोद पराजुलीले नेपाल टेलिकमसँगको सहकार्यमा विभागले यही सातादेखि परीक्षणका रूपमा ‘भ्वाइस कल’मार्फत सूचना प्रवाह गर्ने तयारी गरिरहेको जानकारी दिए ।
उनले भने-'सबै जनताले एसएमएस आएको थाहा नपाउन सक्छन् वा सबैले एसएमएस पढ्न सक्दैनन्। त्यसैले फोन नै गरेर सन्देश प्रवाह गर्ने तयारी गरेका हौँ। एकैपटक धेरैलाई ‘भ्वाइस कल’ गर्दा सेवा अवरुद्ध कति हुन्छ ? भन्ने विषयमा थप परीक्षण गर्दैछौँ । यही साता परीक्षण गर्ने तयारीका साथ छलफल भइरहेको छ।'
मोबाइल एसएमएस सबै लक्षित वर्गमा पठाएर बाढीबाट हुने धनजनको क्षति न्यूनीकरण प्रयास गर्दै आएका थियौँ। तर सबै जनताले एसएमएस आएको थाहा नपाउन सक्ने भएकाले यस्तो तयारी थालेको उनले बताए ।
पराजुलीका अनुसार बाढीसम्बन्धी पूर्वसूचना उपलब्ध गराएपछि बाढीबाट हुने धनजनको क्षति न्यूनीकरण हुन थालेको छ ।