काठमाडौँ । भिजिट भिसा सेटिङ प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकका निजी सचिव बद्री तिवारीलाई म्याग्दीको प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनाइएको छ ।
गृह मन्त्रालयले बुधबार गरेको सीडीओ हेरफेरमा उपसचिव तिवारीलाई म्याग्दी पठाइएको हो ।
गृह मन्त्रालयकै सेटिङमा भिजिट भिसामा विदेश जानेहरुसँग विमानस्थलमा दैनिक ५० लाखसम्म असुली हुने गरेको प्रकरणमा विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख रहेका तिर्थ भट्टराईमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर रुपमा छानविन गरिरहेको छ ।
त्यसमा उपसचिव तिवारी पनि मुछिएका छन् । सो प्रकरणमा अख्तियारले तिवारीमाथि पनि भित्रभित्रै छानविन गरिरहेको बला उनलाई गृह मन्त्रालयले पुरस्कृत गरेको हो । कारबाहीको प्रक्रिया टार्न मन्त्रालयले उनलाई म्याग्दी सीडीओ बनाएर पठाएको स्रोत बताउँछ ।
विगतमा भिजिट भिसा प्रकरणमै मुद्दा खेपेका अधिकृत विमल पौडेललाई गृहमन्त्री रमेश लेखकले आफ्नै सचिवालयमा राखेका कारण पौडेल पनि अख्तियारको छानविनमा तानिएका छन् ।
भट्टराईले गृह मन्त्रालयकै आडमा अध्यागमनमा भिजिट भिसाको असुली चलाएको आरोप लाग्दै आएको छ । भिजिट भिसा प्रकरणकै कारण संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निरन्तर विरोध गर्दै आएका छन्।