काठमाडौं । दुईदिने नेपाल भ्रमाणमा आएका भारतीय विदेशसचिव विक्रम मिस्रीले नेपाली सेनालाई स्ट्राइकिङ भेइकल, सैनिक घोडा र कुकुर उपहार दिएका छन् ।
नेपाली सेनाको मुख्यालय जंगीअड्डा पुगेर सेनालाई ६ वटा स्ट्राइकिङ भेइकल, ब्रिडिङ प्रयोजनका लागि २ वटा सैनिक कुकुर , ५ वटा सैनिक घोडा र केही स्वास्थ्य सामग्रीहरु उनले हस्तान्तरण गरेका हुन् ।
सामग्री हस्तान्तरण गर्नुअघि जंगीअड्डामा प्रधानसेनापति अशोकराज सिग्देलसँग मिस्रीले भेटवार्ता गरेका थिए ।
भेटका क्रममा दुईपक्षीय पारस्परिक हितका बारेमा कुराकानी भएको जंगीअड्डा स्रोतले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन आइतबार विदेशसचिव मिस्री काठमाडौं आएका थिए । उनले यसअघि प्रधानमन्त्री ओली, राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरिसकेका छन् ।
दुई दिने भ्रमण सकेर आज दिउँसो स्वदेश फर्किने कार्यतालिका रहेको छ।