काभ्रेपलाञ्चोक । बीपी राजमार्गमा रातको समयमा सवारी साधन सञ्चालन रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले शुक्रबार एक सूचना जारी गर्दै भदौ १ गतेदेखि १५ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म काभ्रे भञ्ज्याङ–भकुण्डेवेशी हुँदै सिन्धुलीतर्फ जाने सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न प्रतिबन्ध लगाएको हो ।
'हाल देशमा मनसुन सक्रिय अवस्थामा रहेको हुँदा कुनै पनि समयमा वर्षातका कारण विपद् (बाढी, पहिरो) को अवस्था सिर्जना हुन सक्ने भएकोले त्यस्ता विपद्जन्य घटनाबाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न र यात्रुको सुरक्षाको लागि मिति २०८२/०४/३० बसेको जिल्ला सुरक्षा समिति, काभ्रेपलाञ्चोकको बैठकको निर्णय अनुसार बीपी राजमार्गको काभ्रे भञ्ज्याङ भकुण्डेवेशी हुँदै सिन्धुलीतर्फ जाने सार्वजनिक तथा निजी सवारी साधनलाई मिति २०८२ भदौ १ गतेदेखि भदौ १५ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म निषेध गरिएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,' जारी सूचनामा भनिएको छ ।