काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले काठमाडौं–तराई–मधेश द्रूतमार्गको काम समयमै सक्ने प्रतिबद्धता जनाएका छन् ।
बिहीबार सिंहदरबारमा रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयासबारे संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा छलफलमा उनले समयमै काम सक्ने प्रतिवद्धता ब्यक्त गरेका हुन् ।
सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले भने–‘हाम्रो भनाइ र सोचाइ काम समयमा सक्नुपर्छ भन्ने हो । २०८३ को चैत्र अन्तिमसम्म सक्नुपर्ने दायित्व छ । त्यसमा हामी प्रतिबद्ध छौं । अहिले करिब करिब ४३ प्रतिशत काम सकिसकेको छ । अब हुने काम छिटो सकिने खालका छन् ।’
प्रधानसेनापति सिग्देलले फास्ट ट्रयाक बाहेकका अन्य योजनाहरू खोकनामा नआउने ग्यारेन्टी भए धेरै बाधा स्थानीयहरूबाट नहुने पनि बताए ।
उनले भने–‘काम धेरै सहज खालका छन् । नेपाली सेनाले समयमा काम सक्छ भनेर मानिदिनुहुन आग्रह छ । त्यसैअनुसार हामी काम गर्दछौं । खोकना प्रस्थान बिन्दु पनि हो । ६.५ किलोमिटरसम्म लम्बाइ छ । ऐतिहासिक र धार्मिक हिसाबले महत्त्वपूर्ण ठाउँ छ । सिकाली मन्दिर क्षेत्र र दाहसंस्कार गरिसकेपछि किरियापुत्री बस्ने ठाउँहरू छन् । त्यसलाई छोडेर नै नयाँ डीपीआर तयार पारेका छौं ।’