उदयपुर । उदयपुरमा जंगली च्याउको तरकारी खाँदा एकै परिवारका आठजना बिरामी परेका छन् । जिल्लाको चौदण्डीगढी नगरपालिका–९ अजगरामा विषालु जंगली च्याउको तरकारी खाँदा आठ जना बिरामी परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बिरामी हुनेहरूमा ८५ वर्षीया गवनी सदा, ६० वर्षीया गीता सदा, ३१ वर्षीया संजु सदा, २९ वर्षीया मन्जु सदा, २९ वर्षीया सरिता सदा, १० वर्षीया सन्ध्या सदा, ११ वर्षीया सन्जा सदा र वर्ष ५५ का लल्कु सदा छन् ।
सदा परिवारले मङ्गलबार बिहान घर नजिकैको जंगलबाट ल्याएको च्याउको तरकारीसँग खाना खाएका थिए। त्यसपछि उनीहरूलाई बान्ता हुने, टाउको दुख्ने जस्ता समस्या देखिएको थियो।
बिरामी मध्ये गवनी सदा, गीता सदा र सरिता सदाको अवस्था गम्भीर छ। उनीहरूलाई थप उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ।
बाँकी पाँच जना बिरामीको नगर अस्पताल बेल्टारमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।