काठमाडौँ । लामो समयदेखि विवाद र प्रक्रियागत अड्चनमा अड्किएको डोल्पाको १०६ मेगावाट क्षमताको जगदुल्ला आंशिक जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण ठेक्का अन्ततः सम्झौता भएको छ।
आयोजनाका प्रवर्द्धक ‘जगदुल्ला हाइड्रोपावर कम्पनी’ र जियाङसी कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेड तथा एनके कन्स्ट्रक्सन कम्पनी प्रालिको संयुक्त कम्पनी जेसीई–एनकेजेई जेभीबीच सोमबार औपचारिक सम्झौता भएको हो। सम्झौताअनुसार आगामी ६० दिनभित्र निर्माण कार्य सुरु हुनेछ।
ठेक्का प्रक्रियामा सहभागी चार कम्पनीमध्ये प्राविधिक मूल्यांकनपछि जेसीई–एनकेजेई जेभी र सिनो हाइड्रो कर्पोरेसन लिमिटेड मात्र छनोटमा परेका थिए। आर्थिक प्रस्तावमा जेसीई–एनकेजेई जेभीले १३ अर्ब ७३ करोड रुपैयाँ ९भ्याटसहित० मा काम गर्ने प्रस्ताव पेश गरी सबैभन्दा कम दरको प्रस्तावक बनेपछि ठेक्का पाएको हो।
यो आयोजना निर्माणका लागि २०८१ जेठ २० गते पहिलो पटक ठेक्का आह्वान गरिएको भए पनि प्राविधिक कारणले प्रक्रिया रद्द भएको थियो। दोस्रो पटकको प्रक्रियामा चार कम्पनी सहभागी भए, तर दुई मात्र प्राविधिक रूपमा योग्य ठहरिए।
यसबीच, जेसीई–एनकेजेई जेभीले फर्जी कागजात पेश गरेको आरोपमा प्रतिनिधि सभाको लेखा समितिमा उजुरी दर्ता भएपछि करिब दुई महिना ठेक्का प्रक्रिया रोकिएको थियो। तर, अदालतमा मुद्दा चलिरहेको र कानुनी बाटो खुलेपछि सम्झौता प्रक्रिया टुंगिएको हो।