धनगढी । शुक्रबार मध्यरातमा भएको हिंसात्मक झडपपछि करिब ४० घण्टा कैदीबन्दीको नियन्त्रणमा रहेको कैलाली जिल्ला कारागारमा आइतबार दिउँसो सुरक्षाकर्मीको संयुक्त टोली प्रवेश गरेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली राष्ट्रिय मानव अधिकार आयोगको रोहवरमा हतियारसहित प्रवेश गरेको हो । अहिले कारागारको स्थिति सामान्य बन्दै गएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
कारागार प्रशासनले तुरुन्तै कैदीबन्दीहरूको गणना सुरु गरेको थियो । गणनाअनुसार पुरुष ब्लक ‘ए’ मा ३९६, ब्लक ‘बी’ मा १९८ र महिला ब्लकमा ५७ जना रहेका छन् । कुल ७०० कैदीबन्दीको संख्या घटनाअघिको तथ्यांकसँग मेल खाएको प्रशासनको दाबी छ।
शुक्रबार राति ब्लक ‘ए’ का कैदीबन्दीले भित्तामार्फत ब्लक ‘बी’ मा आक्रमण गर्दा धनगढीका भरत चौधरीको मृत्यु र ४९ जना घाइते भएका थिए ।
घटनापछि आक्रोशित कैदीबन्दीले भित्रबाट ताला लगाएर सम्पूर्ण कारागार आफ्नो नियन्त्रणमा लिएपछि सुरक्षाकर्मी प्रवेश गर्न सकेका थिएनन्। गम्भीर घाइतेमध्ये एक जनालाई शनिबार साँझ नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाइएको थियो ।