कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२, ऐरीनजिक महाकाली नदीमा दुई बालिका बेपत्ता भएका छन् । नदीमा नुहाउने क्रममा उनीहरू बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार, बेपत्ता हुनेमा भीमदत्त नगरपालिका–११ का ६ वर्षीया सानवी पन्त र सात वर्षीया जिविका पन्त रहेका छन् ।
महाकालीमा नुहाउने क्रममा बेपत्ता भएका बालिकाको खोजी कार्य जारी रहेको उनले बताए । खोजी कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ ।
स्थानीयका अनुसार, नदी किनारमा अन्य बालिका समेत नुहाइरहेका थिए । जसमध्ये दुईजना बगेर बेपत्ता भएका हुन् ।