काठमाडौं । घरेलु कामदारको रुपमा अवैध बाटो हुँदै खाडी मुलुक पठाउने उद्देश्यले भारत पुर्याइएका ४० नेपाली महिलालाई काठमाडौं फिर्ता ल्याइएको छ ।
रुपन्देहीको सुनौली नाकाबाट दिल्ली पुर्याइएका ४० नेपाली महिलालाई उद्दार गरेर शुक्रबार काठमाडौं फिर्ता ल्याइएको हो ।
भारतको दिल्ली हुँदै खाडी मुलुक पठाउन लागिएका अवस्थामा दिल्लीस्थित नेपाली दूतावास, प्रहरी सहचारी, भारतीय प्रहरी र किन इण्डियाको संयुक्त पहलमा हिजो ६३ जना महिलाको उद्धार गरिएको थियो । जसमध्ये ४० नेपाली महिलालाई काठमाडौं ल्याइएको हो ।
उनीहरू सबैलाई घरेलु कामदारका रूपमा खाडीका विभिन्न देश पठाउने तयारी थियो । दिल्लीस्थित नेपाली दूतावासले भारतीय प्रहरीको सहयोग लिएर महिपालपुरको विभिन्न होटलबाट उनीहरूको उद्धार गरेको दूतावासले जनाएको छ ।
बुधबार राति दूतावास र भारतीय प्रहरी समेतको सहयोगमा दिल्लीका चार वटा होटलबाट ६३ महिलाको उद्धार गरिएको थियो ।
त्यसमध्ये २३ जना आवश्यक कागजात पूरा गरेर युरोपका विभिन्न देश जाने तयारी रहेकाले उनीहरूलाई छाडिएको हो ।
उनीहरू कागजी प्रक्रिया र भिसाका लागि भारत पुगेको बताइएको छ । उनीहरूलाई युरोप पठाउने मेनपावर कम्पनीका प्रतिनिधिले समेत दूतावाससँग समन्वय गरेर आफूहरू कानूनी रुपमा युरोप पठाउन लागेको बताएका थिए ।
उद्दार गरेर काठमाडौं फिर्ता ल्याइएका ४० महिलाहरू भने कुवेत, साउदी, ओमान, दुबईलगायतका देश जाने तयारीमा थिए ।
उनीहरुमध्ये ३१ जना कुवेत, ४ जना ओमन, ४ जना दुबई र १ जना साउदी अरब पठाउन लागिएको थियो ।
ती देशहरूमा घरेलु कामदारको रुपमा महिला जान पाउँदैनन् । जसका कारण दलालहरुले भारतको दिल्ली हुँदै अवैध रुपमा नेपाली महिलाहरुलाई खाडी मुलुक पठाउँदै आएका छन् ।