काठमाडौं । मंगलबारको भारी वर्षाका कारण छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा आएको बाढी पहिरोमा परि जुम्ला र जाजरकोटका ७ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । त्यसैगरी जाजरकोटका १३ जना, बर्दियाका ५ जना र अन्य ५ जना सम्पर्कविहीन भएका छन्।
जाजरकोटको कुशे गाउँपालिकाले विज्ञप्ति जारी गर्दै वडा नम्बर २ का १३ जना सम्पर्कविहीन भएको जानकारी दिएको हो।
गाउँपालिकाले विज्ञप्तिमार्फत् भनेको छ–‘गत साउन २० गते तदअनुरूप (५ अगष्ट २०२५) मा भारतको उत्तराखण्ड राज्य अन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा वर्षापछि आएको भीषण बाढी तथा पहिरोको कारण कुशे गाउँपालिका वडा नम्बर २ का करिब १३ जना भन्दा बढी र अन्य वडाका केही व्यक्तिहरू पनि सम्पर्कमा नरहेकोले हराएको हुन सक्ने आशंका सामाजिक सन्जाल मार्फत जानकारी प्राप्त भएकाले हराएकाहरूको खोजी तथा उद्धार कार्यलाई द्रुत र प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय मार्फत कूटनीतिक पहल गरिदिनको लागि प्रदेश तथा संघिय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले घटनाबारे कुशे गाउँपालिकाले निकालेको विज्ञप्तिलाई आधिकारिक मानेर गृह मन्त्रालयसँग उद्धार र खोजी कार्यका लागि आवश्यक समन्वय गरिदिन पहल गरेको बताएका छन् ।
उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको धराली बजारमा बाढी आएको थियो भने बुधबार पौडी गढवालमा पहिरो गएको थियो।
जाजरकोटको कुशे गाउँपालिका–२ टालेगाउँका ६ जना र जुम्लाका एक जनाको मृत्यु भएको पनि बताइएको छ ।
यद्यपी गाउँपालिकाले विज्ञप्तिमा भने मृत्यु भएका नागरिकहरुको बारेमा कुनै जानकारी गराएको छैन । तर, कामको शिलशिलामा भारत पुगेका कुशे गाउँपालिका–२ का एक व्यक्तिले नै ६ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।
गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार पालिकाका अन्य वडाका व्यक्ति पनि हराएको आशंका छ।
कुशे गाउँपालिकाका–२ टालेगाउँका कर्णबहादुर सिंह, रामबहादुर सिंह, मानबहादुर सिंह, निम सिंह, रविन सिंहको मृत्यु भएको छ । उनीहरुको मृत्यु भएको मानबहादुर सिंहका छोरा नविनले जानकारी दिएका हुन् । नवीन पनि बुवासँगै काम गर्न भारत गएका थिए ।
त्यस्तै जुम्ला तिला गाउँपालिकाका जनकबहादुर शाही र रुकुम घर भएका नाम नखुलेका अर्का एक जना पनि बाढीपछि सम्पर्कविहीन रहेको आफूले जानकारी पाएको अध्यक्ष बस्नेतले बताए ।
बेपत्ता हुनेमा बर्दियाका मधुवन नगरपालिका–६ गाउँ नम्बर ४ का एकै परिवारका तीन, मधुवन–५ गाउँ नम्बर ८ का एक र मधुवनकै वडा नखुलेका एक जना छन् ।
पहिरोमा परी मधुवन–६ का ३९ वर्षीय नरेन्द्र खड्का, उनकी ३० वर्षीया श्रीमती सरस्वती र २ वर्षीय छोरा रोमन बेपत्ता भएको नरेन्द्रका काका उद्धव खड्काले बताए । वडा नम्बर ८ का ४५ वर्षीय रामु परियारकी श्रीमती अमृता र मधुवनकै २१ वर्षीय सुवास विक पनि पहिरोमा बेपत्ता छन् ।
त्यस्तै, उत्तराखण्डको पौडी गढवालस्थित ग्राम बाकुडाबाट करिब १ किमि टाढा मधेरा खटौलानजिक सिन्धु खोला किनारमा बुधबार बिहान खसेको पहिरोमा परी ५ जना नेपाली बेपत्ता भएका छन् ।
सडक निर्माणको काममा गएका नेपाली कामदार खोला किनारमा टेन्ट हालेर बस्दै आएका थिए ।
उत्तराखण्डमा क्लाउड ब्रस्ट भएर उक्त विपत्ति निम्तिएको भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन्। उत्तरकाशी क्षेत्रमा हिमताल विस्फोट भएको हुनसक्ने पनि आकलन गरिएको छ।